: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव जितिँदैन भन्ने निष्कर्षले भाँड्ने प्रयासमा रहेको आरोप लगाएका छन् ।
आफ्नो चुनावी क्षेत्र झापा जाने क्रममा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले रास्वपा आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव हुन दिने नभए बाँड्ने पक्षमा देखिएको आरोप लगाएका हुन् । आफूले देखेका केहि दिनयताका घटनाहरु हेर्दा रास्वपाले चुनाव भाँड्न खोजेको देखिएको उनले बताए ।
निर्वाचन बलजफती गर्ने कुरा नभएको बताउँदै अध्यक्ष ओलीले चुनाव ऐन, कानुनभित्र रहेर स्वच्छ र स्वस्थ प्रतिष्पर्धासहित शान्तिपूर्ण वातावरणमा निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताए । उनले मतदाताले भयरहित वातावरणमा गएर आफ्नो स्वेच्छाको मत निर्वाध दिन पाउनु पर्ने बताएका छन् ।
अध्यक्ष ओलीले निर्वाचनको प्रक्रिया र परिणाम पारदर्शी, निष्पक्ष र शान्तिपूर्ण हुनुपर्ने बताउँदै भने, ‘तर, अहिले निर्वाचनको वातावरण शान्तिपूर्ण भइरहेको छैन, शान्ति भड्काउन खोज्ने प्रयासहरु भइरहेका छन् । सबै क्षेत्रबाट चिन्ता जाहेर भएको पनि देखियो ।’
आफ्ना–आफ्ना ‘इन्ट्रेस’ हुन सक्ने भए पनि यति बेला विभिन्न कोणबाट जुन कुराहरु आइरहेका छन् निर्वाचनपछि पनि द्वन्द्व कायम रहने स्थिति देखिएको अध्यक्ष ओलीले बताए । द्वन्द्वका कारणहरु पहिला समाधान गरेर निर्वाचनमा जाऊ भन्ने कुराहरु पनि देखिएको अध्यक्ष ओलीले बताएका छन् । त्यसका विभिन्न पक्षहरु हुनसक्ने बताउँदै अध्यक्ष ओलीले त्यसको निराकणको उपाय पनि हुने बताए ।
राजनीतिक दलहरुले जिम्मेवारीवोध नगर्दा नेपालमा एउटा अप्रिय घटना भएको बताउँदै उनले भदौं २३–२४ गते नहुनु पर्ने मानिसको ज्यान जाने, देशमा आगजनी लुटपाट, तोडफोड र भयानक हिंसा, सार्वजनिक सम्पतिदेखि लिएर राज्का प्रमुख अंगहरुका कार्यालयहरु ध्वस्त गर्नेदेखि लिएर औद्योगिक क्षेत्र, राजनीतिक दलका कार्यालय, राजनीतिक दलका नेता कार्यकर्ताका सम्पतिहरु जलाउने काम भएको बताए । उनले यो अत्यन्तै आपराधिक मनोवृतिको थालनी नेपाली समाजमा भएको बताए ।