: नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले यसपटकको निर्वाचनलाई संघर्षको मोर्चाको रुपमा उपयोग गर्ने बताएका छन्।
बिहिबार प्यूठानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको आवाज संसदमा उठाउनका लागि चुनावको प्रयोग गर्न लागेको उल्लेख गरेका हुन् । चुनावमा जबरजस्त कसैलाई जिताउने र कसैलाई हराउने षड्यन्त्र हुन लागेको उनले आशंका समेत व्यक्त गरेका छन्।
सेना दिवसको अवसरमा टुडिखेलमा अमेरिकी सेनाको उपस्थितिले शंका पैदा गरेको उनको भनाई छ। ‘सेनाको उपस्थिति हुने सामान्य प्रचलन त रहेछ’ ,उनले भने, ‘अमेरिकाले नेपाललाई सैनिक अखडा बनाउन खोजेको देखियो।’
जेनजी विद्रोह पछि अन्तरिम सरकार बन्नुपर्छ भन्ने माग सरकारसँग राखेकै कारण आफुहरु माथि आक्रमण भएको उनले स्मरण गराए। ‘सर्वपक्षिय अन्तरिम सरकार बन्नुपर्छ भन्दा हाम्रा कम्युनहरुमा आक्रमण भयो ।’ ,उनले भने, ‘कम्युनहरुमा फलाएका आलुलाई बम भन्दै दुष्प्रचार गरियो, चुनावमा आउन नदिन सरकारले षडयन्त्र गर्याे ।’
भ्रष्टाचार विरुद्ध भएको जेनजी आन्दोलन असफल बनाउन खोजिएको उनको भनाई छ। भ्रष्टाचारीलाई कारवाही गर्ने, संविधान संशोधन मार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख छान्ने जस्ता एजेण्डा असफल हुँदै गएको र वास्तविक जेनजी आन्दोलनकारी अझै सडकमै रहेको उनले बताए।
नेपालमा भएका संघर्षहरुले राजनीतिक सफलता हाँसिल गरेपनि जनताका अधिकार स्थापित हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । ‘कांग्रेस, एमाले, माओवादीहरुले गरेको सघर्षहरु सफल भएनन्। गणतन्त्र, संघीयता र समावेशीता जस्ता केहि राजनीतिक सफलता भए’ ,उनले भने, ‘तर नेपाली जनताले अधिकार पाउन सकेनन्, देश गरिवीको दिशामा अघि बढ्यो ।’
आफ्नो पार्टीले कम्युन मार्फत संचालन गरेको कृषि उत्पादनलाई औद्योगिक विकासमा अघि लैजाने स्पष्ट पार्दै २०८४ मा हुने नियमित निर्वाचन २०८२ मा हुन लागेकोले यो चुनाव भ्रष्टाचार, राष्ट्रघाति दलाल र साम्राज्यवादी हस्तक्षपका विरुद्ध भएको उनकाे दाबी छ ।
१३० निर्वाचन क्षेत्रमा उम्मेदवार सहित चुनावी प्रचारमा जुटेको नेकपा (माओवादी)ले जनाएको छ ।