: नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बनाउने र भत्काउनेबीचको द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको टिप्पणी गरेका छन् ।
पार्टीको प्रतिबद्धता सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै चुनावअघि अहिले सिङ्गो समाज प्रश्नैप्रश्नको घेरामा रहेको बताएका छन् । उनले भदौ २३ र २४ को घटनालाई लिएर चार प्रश्न उठाएका छन् ।
–भदौ २३ अघि देश बनिरहेको थियो कि बिग्रिँदै थियो ? कि देश बिग्रिएको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार गरिँदै थियो ?
–भदौ २३ को प्रदर्शनमा कसले घुसपैठ गर्यो ? शान्तिपूर्ण प्रदर्शन गरेर घर फर्किन लागेका युवालाई निषेधित क्षेत्रतर्फ कसले र किन धकेल्यो ?
– भदौ २३ र २४ गतेका घटना स्वतस्फुत थिए कि योजनाबद्ध ? निजी सम्पत्ति, व्यवसाय र साधारण नागरिकलाई किन लक्ष्य बनाइयो ? आफ्नो कर्तव्य पालना गरिरहेका सुरक्षाकर्मीलाई किन आक्रमण गरियो ?
– सरकार संविधान तथा व्यवस्थाको सन्दर्भमा जेनजी प्रदर्शनको कुनै माग थिएन। हुँदै नभएको मागलाई लिएर प्रणालीमाथि नै धावा बोल्ने गरी प्रतिनिधि सभाको विघटन किन गरियो ?
उनले यी र यस्तै प्रश्नहरूको आफूहरूले पनि जवाफ खोजिरहेको बताएका छन् । उनले अहिले देशी विदेशी शक्तिहरूले देशमा अस्थिरता निम्त्याउन खोजिएको आरोप लगाए।
‘राष्ट्रविरुद्धको महाअपराध छोप्न नयाँ शक्तिको मुखुण्डो लगाएका छन्’
पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते भएको घटनालाई ‘राष्ट्रविरुद्धको महाअपराध’ को संज्ञा दिएका छन् । अध्यक्ष ओलीले भदौ २४ घटना अप्रत्याशित नभएको जिकिर गरेका छन् । ‘भदौ २४ को महाविनास अप्रत्याशित घटना होइन,’ ओलीले भने ।
उनले भदौ २४ गतेको आगजानी तथा तोडफोडलाई राष्ट्रविरुद्धको अपराध भनेका छन् । त्यसमा संलग्न व्यक्ति अहिले नयाँ शक्तिको नाम दिएर आइरहेको उनको आरोप छ । ‘राष्ट्रका विरुद्धको महाअपराध छोप्न केहीले नयाँ शक्तिको मुखुण्डो लगाएका छन् । तिनलाई चिन्न ढिलो गर्न हुँदैन,’ ओलीले भने ।