: चुनावी प्रचारका लागि देश दौडाहमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार प्यूठान आएका छन्। दाङबाट प्यूठान आएका उनले गाडीको ‘सनरुफ’बाटै पाँच मिनेट भोट अपिल गरेर फर्किएका छन्।
विजुवारस्थित गणतान्त्रिक खेलकुद मैदान अगाडीको चौरमा चुनावी सभाको आयोजना गरिएको थियो। तर उनी मञ्चमै पुगेनन्। गाडीको सनरुफमै माइक ल्याउन भने। सम्बोधन गरे र फर्किए। ‘ममाथि अन्याय भएको छ।’, उनले भने, ‘म त्यसको जवाफ दिन आएको हैन, त्यसको जवाफ जनताले फागुन २१ गते दिनेछन्।’
पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि प्यूठानका उम्मेदवार सुशान्त बैदिकलाई भोट गर्न अपिल गरे। ‘म धेरै व्यस्त थिए, देशका विभिन्न भागहरुमा जानुपर्ने थियो, आफ्नै निर्वाचन क्षेत्रमा पनि जान पाएको छैन।’ ,पाँच मिनेटको सम्बोधनमा उनले भने, ‘तर प्यूठान आउनै पर्ने थियो, मैले प्यूठानको माटो छुनै पर्ने थियो।’ प्यूठानी जनताको ढुकढुकी छाम्न आफु प्यूठान आएको उनको भनाई थियो।