: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिले दोबाटोमा रहेको बताएका छन् । उनले एकातिर आवेग, आक्रोश र अर्कोतिर विवेक र जिम्मेवारी रहेको बताएका छन् ।
पार्टीको घोषणापत्र जारी गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले अहिले देश भत्काउने र बनाउनेबीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै गरेको बताए ।
ठूला पार्टी मिलेकै कारण संकट आएको होइन
अध्यक्ष केपी शर्मा ओलीले विगतमा ठूला पार्टी मिलेकै कारण देशमा संकट नआएको दावी गरेका छन् । बरु नेपालको स्थायित्व र समृद्धि देख्न नसक्ने शक्तिले षडयन्त्रपूर्वक घटना घटाइएको ओलीको भनाइ छ । बिहीबार काठमाडौंमा यही फागुन २१ गते हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘संवैधानिक बाटोबाट स्थिर सकार नढल्ने भएपछि अपनाइएको अर्को बाटो हो भदौ २३ र २४ घटना ।’
ओलीले भदौ २३ र २४ का घटना नियोजित थिए कि योजनाबद्ध ? भन्ने प्रश्न गरे । ‘सरकारी सम्पत्तिमा किन आक्रमण गरियो ?’, ओलीले भने। ओलीले जेनजीको माग विनै संसद् विघटन गरिएको बताएका छन् । देशलाई संवैधानिक संकटमा लैजान जेनजी कुनै मागविना प्रतिनिधिसभा विघटन गरिएको ओलीको जिकिर छ । संविधानको रक्षा गर्न जनताले यसको जवाफ खोज्नैपर्ने ओलीको भनाइ छ ।