: नेपाल कम्युनिष्ट पार्टी (एमाले) देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाएको दाबी गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले बिहीबार राति दाङ तुल्सीपुरमा एमालेको चुनाव चिन्ह 'सूर्य' अंकित झण्डा जलाएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासचिव शंकर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको यो शैली राज्य, जनता, लोकतन्त्र र संविधानविरूद्धको अपराधजन्य कार्य भएको एमालेको ठहर छ। ‘एमाले लाखौं जनतामा लोकप्रिय हाम्रो पार्टीको आस्थामा चोट पुऱ्याउने गरी 'सूर्य' चिन्ह अंकित झण्डामा आगो लगाउनेहरू उनै देश जलाउनेहरू हुन् भन्ने यो घट्नाले पुष्टि गरेको छ। र, यो अराजकता, उद्दण्डता र अपराधिक घटनाको नेकपा (एमाले) घोर भर्त्सना गर्दछ।’ आम निर्वाचन २०८२ का प्रेस संयोजन एवम् प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दहरूका नाराबाजीसहित महासचिव शंकर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको यो शैली राज्य, जनता, लोकतन्त्र र संविधानविरूद्धको अपराधजन्य कार्य हो। हाम्रो पार्टीले फागुन २१ को चुनाव 'देश जलाउने र बनाउने 'बीचको जनमत सङ्ग्रह हो भनिरहेकै बेला उनै देश जलाउनेहरूले देश बनाउने नारा अघि सारेको एमालेको आस्थाको पुञ्ज 'सूर्य' ध्वजावाहक झण्डा जलाएको घटना संयोग मात्रै होइन।’
एमालेले देश जलाउनेहरूबाटै आज नेकपा (एमाले) को चुनाव चिन्ह 'सूर्य' अंकित झण्डा जलाउनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भएको दाबी गरेको छ। एमालेले भनेको छ, ‘दलीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो। प्रतिस्पर्धाकै लागि चुनावी माहोलमा होमिएको एउटा स्थापित राष्ट्रिय शक्ति एमालेको आस्थामा चोट पुऱ्याउने काम रास्वपाले भन्ने गरेको 'नयाँको मानक' बन्न सक्ला। तर यो लोकतन्त्रको परिधिभित्र पर्दैन। रास्वपाका कार्यकर्ताको यो हर्कत मुलुकलाई चरम अस्थिरताको चक्रव्यूहमा फसाउने र चुनावी द्वन्द्वलाई आमन्त्रण गरिएको एक उदाहरण हो।’
एमाले झण्डा जलाउने रास्वपाका कार्यकर्ताहरूलाई तत्काल पहिचान गरी कानुनी दायरामा लिई कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ। विज्ञप्तिमा शाहीले भनेका छन्, ‘नेकपा (एमाले) अनुशासित पार्टी भएकाले यो घटनाबाट उत्तेजित भएको छैन। यद्यपि हाम्रो संयमता, धैर्य हामी कमजोर भएर होइन। एमाले कानुनी शासनको सम्मान गर्ने भएकाले झण्डा जलाउने रास्वपाका कार्यकर्ताहरूलाई तत्काल पहिचान गरी कानुनी दायरामा लिई कारवाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छ। अतः सरकार भयरहित, निष्पक्ष र निर्भिक ढंगले मतदातालाई मतदान गर्ने अधिकारलाई सुरक्षित गर्न सकिरहेको छैन भन्ने हाम्रो तर्कलाई यस घटनाले पुष्टि त गर्दैन ? भन्ने प्रश्न उब्जिएको छ।’
झण्डा जलाउने दल र त्यसका कार्यकर्तामाथि कानुनी कारबाही नगरिए त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थिति र घट्नाको जिम्मेवार सरकार, निर्वाचन आयोग र झण्डा जलाउने दल रास्वपा हुने चेतावनी दिएको छ। ‘झण्डा जलाउने कार्यबाट निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको छ। तसर्थ, निर्वाचन आयोगले सम्बन्धित दललाई तत्कालै प्रष्टीकरण लिई उनीहरूको जवाफ सार्वजनिक गर्न एमाले जोड्दार माग गर्दछ। यदि झण्डा जलाउने दल र त्यसका कार्यकर्ताहरू माथि कानुनी कारबाही नगरिए त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थिति र घटनाको जिम्मेवार सरकार, निर्वाचन आयोग र झण्डा जलाउने दल रास्वपा हुने यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ।’