: दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले एमालेको झन्डा जलाएको विषयले तनाव बढेको छ। एमालेले देशभर नै आफ्नो झन्डा लगाएको विरोधमा मसाल जुलुस प्रर्दशन गरेको छ। झन्डा जलाएको विरोधमा दाङसहित प्रमुख सहरमा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु र भोलिन्टियर फोर्सले काठमाडौंको माइतघरलगायत स्थानमा मसाल जुलुस र कालो झन्डा प्रदर्शन गरेको छ। उनीहरूले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)को पुत्ला दहन पनि गरेका छन्। एमालेले औपचारिक रूपमा नै यो घटनाको निन्दा पनि गरेको छ।
विज्ञप्ति जारी गर्दै एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले बिहीबार राति दाङ तुलसीपुरमा एमालेको चुनाव चिह्न ‘सूर्य’ अंकित झन्डा जलाएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षणसहित चेतावनी पनि दिएको छ। उसले देश जलाउनेले देश बनाउने पार्टीको झन्डा जलाएको बताएको छ। झन्डा जलाउने दल र त्यसका कार्यकर्ताहरूमाथि कानुनी कारबाही नगरिए त्यसबाट उत्पन्न हुने घटनाको जिम्मेवार सरकार, निर्वाचन आयोग र झन्डा जलाउने दल रास्वपा हुने चेतावनी पनि एमालेले दिएको छ।
‘एमाले लाखौं जनतामा लोकप्रिय हाम्रो पार्टीको आस्थामा चोट पुर्याउने गरी ‘सूर्य’ चिह्न अंकित झन्डामा आगो लगाउनेहरू उनै देश जलाउनेहरू हुन् भन्ने यो घट्नाले पुष्टि गरेको छ। र, यो अराजकता, उद्दण्डता र आपराधिक घटनाको नेकपा (एमाले) घोर भत्र्सना गर्दछ।’ आमनिर्वाचन २०८२ का प्रेस संयोजक एवं प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दहरूका नाराबाजीसहित महासचिव शंकर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको यो शैली राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य हो। हाम्रो पार्टीले फागुन २१ को चुनाव ‘देश जलाउने र बनाउने’बीचको जनमत संग्रह हो भनिरहेकै बेला उनै देश जलाउनेहरूले देश बनाउने नारा अघि सारेको एमालेको आस्थाको पुञ्ज ‘सूर्य’ ध्वजावाहक झन्डा जलाएको घटना संयोग मात्रै होइन।’
अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झन्डा जलाएर लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा आघात पुर्याएको जनाएकोक छ। अध्यक्ष दीपक धामीले विज्ञप्ति जारी गर्दै राजनीतिक मतभिन्नता लोकतन्त्रको स्वाभाविक विशेषता भए पनि फरक आस्था र विचारप्रति असहिष्णुता प्रदर्शन गर्दै अरूको आस्थामा आक्रमण गर्नु लोकतान्त्रिक संस्कारविपरीत भएको जनाएका छन्।
उनले भनेका छन्, ‘सरकार मौन बस्ने वा अराजकतालाई प्र श्रय दिने कार्य गरेमा अनेरास्ववियु सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिन चाहन्छ।’ युवा संघले पनि झन्डा जलाएकोमा माफी माग्न रास्वपासँग आग्रह गरेको छ।
उसले अराजक गतिविधि नरोके प्रतिवादमा उत्रने चेतावनी पनि दिएको छ। युवा संघका अध्यक्ष महाराज गुरुङले विज्ञप्ति निकाल्दै आफूहरू आलोचना स्वीकार्ने तर अवरोध, अराजकता र उच्छृंखलता नस्वीकार्ने बताएका छन्। रास्वपालाई यथाशीघ्र सार्वजनिक रूपमा माफी माग्न, यस्ता गतिविधि रोक्न र कार्यकर्तालाई अनुशासनमा राख्न उनले चेतावनी दिएका छन्। खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले रास्वपाका गतिविधि दोहोरिए देशव्यापी सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएका छन्।
रास्वपाका सभा नै स्थगित
उता रास्वपा भने यो घटनाबाट पन्छिएको छ। उसले सम्भावित खतरालाई मध्यनजर गरेर भैरहवा र पोखराका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने तय भएको सभा विशेष कारणले हालका लागि स्थगित गरिएको रास्वपाले जनाएको छ।
‘प्रतिनिधिसभा सदस्यको निर्वाचन २०८२ को तयारीका क्रममा २०८२ फागुन १० गते कास्कीको पोखरामा परिवर्तन उद्घोष सभा गर्ने भनिएकामा संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापनलगायत विशेष कारण उक्त कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरिएको बेहोरा जानकारी गराउँदछु,’ उपसभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ। शनिबार भैरहवामा गर्ने भनिएको कार्यक्रम पनि स्थगित गरिएको जानकारी रास्वपाले दिएको छ।
एमालेको झन्डा जलाएको घटनाबारे कुनै निर्णय नभएको निर्वाचन आयोगले जनाएको छ। आयोगकी सहायक प्रवक्ता सीता पुनले अर्को दलको झन्डा जलाएको विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेकी छन्। ‘निर्वाचन आचारसंहिताविपरीत गतिविधि भए निर्वाचन कसुर सजाय ऐनअनुसार कारबाही गर्ने हो। तर, यस विषयमा आयोगबाट निर्णय भइसकेको छैन,’ पुनले नियमित पत्रकार सम्मेलनमा भनिन्।
दाङको घटना, पूर्वराजा ज्ञानेन्द्र शाहको प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आएको अभिव्यक्ति, दुर्गा प्रसार्इं, धमेन्द्र बस्तोला, ऋषि कट्टेललको पक्राउलगायत विषय निर्वाचन बिथोल्ने प्रपञ्च हुन सक्ने आशंका पनि गर्न थालिएको छ।
राप्रपाको आपत्ति
दाङमै राजा वीरेन्द्रको शालिकमाथि चढेको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति प्रकट गरेको छ। रास्वपाका सभापति लामिछाने दाङ गएको बेलामा रास्वपाका कार्यकर्ताहरूले राजा वीरेन्द्रको शालिकमाथि चढेका थिए। राप्रपाले भनेको छ, ‘अपमानपूर्ण र अभद्र व्यवहारप्रति राप्रपा लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ। कसैको आस्थामा असर पर्ने यस्तो खाले अराजकतापूर्ण व्यवहार सह्य हुँदैन। तसर्थ, यो गतिविधिको सम्बन्धमा तत्काल रास्वपाले आफ्नो धारणा स्पष्ट पार्दै माफी माग्न आग्रह गर्दछौं। साथै यस्तो घटना फेरि नदोहोरिने प्रतिबद्धता गर्न हुनसमेत आग्रह गर्दछौं।’