: चुनाव नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नवलपरासीमा तीव्र असन्तुष्टि बढ्दै गएको छ । पार्टी स्थापनाकालदेखि संगठन विस्तारमा सक्रिय रहेका स्थानीय नेताहरुलाई पाखा लगाउँदै अन्य दल त्यागेर आएकालाई उम्मेदवार बनाएदेखि नै पार्टीभित्र आन्तरिक असन्तुष्टि चुलिँदै गएको थियो ।
पछिल्लो समय रास्वपाका नेता र समर्थकले पार्टी छाड्न थालेपछि असन्तुष्टिको सतह बाहिर आउन थालेको हो । रास्वपाले नवलपरासी क्षेत्र नम्बर १ मा विक्रम खनाल र क्षेत्र नम्बर २ मा नरेन्द्रकुमार गुप्तालाई उम्मेदवार बनाएसँगै असन्तुष्टि बढेको छ । क्षेत्र नम्बर १ का उम्मेदवार खनाल नेपाली कांग्रेसबाट निर्वाचित संविधान सभा सदस्य हुन् । उनले २०७४ सालमा नेपाली कांग्रेसबाट टिकट लिएर लुम्बिनी प्रदेश सभासद्मा उम्मेदवारी दिए पनि पराजित भएका थिए ।
कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री समेत रहेका खनालले गत निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाहीमा परेका थिए । निर्वाचनको केही समयअघि उनको कारबाही फुकुवा भएको थियो । क्षेत्र नम्बर १ बाट रास्वपाका जिल्ला सभापति महेन्द्रसेन ठकुरी उम्मेदवार बन्ने पक्का पक्की भएको थियो । तर कांग्रेसबाट टिकट नपाएपछि मनोनयनको एक दिनअघि पुगेर खनालले रास्वपाको टिकटबाट उम्मेदवारी दर्ता गराएसँगै असन्तुष्टि बढेको छ । ठकुरी २०७९ को निर्वाचनमा उक्त क्षेत्रबाट रास्वपाबाट पराजित भएका थिए ।
त्यसैगरी क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका गुप्ता पनि कांग्रेसका थिए । नेपाली कांग्रेसबाट २०७४ सालमा रामग्राम नगरपालिकाको मेयरमा निर्वाचित भएका गुप्ता फेरि २०७९ मा कांग्रेसबाट उम्मेदवार बनेका थिए । तर उनी पराजित भएका थिए । यो क्षेत्रमा रास्वपाबाट एकल नाम सिफारिस भएकालाई पाखा लगाउँदै कांग्रेस छाडेर गएका गुप्ताले टिकट हत्याएका हुन् ।
गुप्ता पनि मनोनयनको एक दिनअघि रास्वपामा गएर उम्मेदवार बनेका हुन् । यो क्षेत्रमा पनि रास्वापमा उत्तिकै असन्तुष्टि देखिएको कार्यकर्ताहरुले बताएका छन् । टिकट वितरणले रास्वपालाई पनि पुरानै दल जस्तो बनाइ दिएको भन्दै जिल्लाका नेता र कार्यकर्तामा असन्तुष्टि बढ्दै गएको हो ।
उनीहरुमा देखिएको असन्तुष्टि अहिले पार्टीबाटै अलग हुने परिस्थितिसम्म पुर्याएको छ । पछिल्लो पटक रास्वापाका क्षेत्र नम्बर १ अन्तर्गतको बर्दघाट नगरपालिका–१३ का सभापति जितबहादुर हरिजनले विज्ञप्ति निकालेर पार्टीबाट राजीनामा दिएका छन् ।
उनले स्थापनाकालदेखि संगठनमा लागेका नेतालाई टिकट नदिएर कांग्रेसका नेतालाई दिनुले पार्टीका नेता–कार्यकर्ताले अपमानित महसुस गरेको भन्दै पार्टी छाड्ने निर्णय गरेका हुन् । केही दिनअघि रास्वपामा गएका नेविसंघबाट निर्वाचित पाल्ही बहुमुखी क्याम्पसका स्ववियु सभापति निरज धवलले पनि विज्ञप्ति निकालेर समर्थन फिर्ता लिएको जनाएका छन् ।