: ७३ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत केन्द्रबाट अहिले विद्युत उत्पादन ठप्प भएको छ । गत फागुन २ गतेदेखि २२ दिनसम्मका लागि विद्युत उत्पादन बन्द गरिएको केन्द्रका कर्मचारी शैलेन्द्र भट्टले जानकारी दिए ।
बाँध, सुरुङ, पावरहाउस लगायतका संरचना मर्मत सम्भार गर्नु परेकाले २२ दिनसम्म उत्पादन बन्द गरिएको भट्टले जानकारी दिए । ‘बाँधमा बालुवा थुप्रिएर सफा गर्नुपर्ने भएको थियो । गेट पनि धन्नै भत्किने अवस्थामा पुगिसकेको थियो । सुरुङ र अन्य संरचनाहरुको पनि ठाउँ–ठाउँमा मर्मत सम्भार गर्नुपर्ने भएको थियो’, भट्टले भने, ‘त्यसैले पूर्व सूचना दिएर आउँदो २२ गतेसम्म उत्पादन बन्द गरिएको छ। धमाधम मर्मत कार्य भइरहेको छ ।’
आउँदो चुनावको भोलिपल्ट अर्थात फागुन २२ गतेबाट सो आयोजनाको विद्युत उत्पादन सुचारु गर्ने उनले बताए । २०४२ सालदेखि सञ्चालन गरिएको मर्स्याङ्दी जलविद्युत आयोजनाबाट ७३ मेगावाट विद्युत उत्पादन हुन्छ ।