— प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
महाशिवरात्री तथा २ सय ६३ औं नेपाली सेना दिवसका अवसरमा शनिबार मातहत सकलदर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले निर्वाचन सुरक्षालाई प्रभावकारी रुपमा सम्पन्न गराउने गरी काम गर्न निर्देशन दिएका हुन् ।
सेना दिवसका अवसरमा सम्बोधन गर्ने क्रममा प्रधानसेनापति सिग्देलले सेनाले विभिन्न क्षेत्रहरुमा निर्वाह गर्दै आएको जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गरेको र निर्वाचन सुरक्षा जिम्मेवारी पनि त्यही रुपमा गर्न निर्देशन दिएका हुन् ।
फागुन २१ मा १ सय १० सदस्य समानुपातिक र १ सय ६५ सिट प्रत्यक्ष तर्फ गरी कूल २ सय ७५ सदस्य प्रतिनिधिसभा सदस्यको निर्वाचन एकै चरणमा हुँदै छ । निर्वाचन सुरक्षामा करिब सवा ३ लाख सुरक्षाकर्मी परिचालन हुन लागेकामा नेपाली सेनाबाट मात्रै झण्डै ८० हजार जनशक्ति खटिएका छन् ।
नेपाली सेनालाई निर्वाचन सुरक्षामा हवाई गस्ती, कारागार सुरक्षा, मतपेटिका तथा निर्वाचन सामग्री ढुवानीका अलावा फिल्डमा बाहिरी सुरक्षा घेरामा परिचालन गरिएको छ ।
नेपालको गौरवका गाथा, परम्परा र संस्कृतिहरू चिन्न, गौरव गर्न र इतिहासका पाठबाट सिक्न सबै सैनिक तालिममा नेपाल र नेपालीको इतिहास अध्ययन–अध्यापन गराउन पनि उनले निर्देशन दिए ।