: सुनसरीको देवानगंज गाउँपालिका क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। शनिबार बिहान देवानगंज गाउँपालिका वडा नं. ४ र ५ को सिमाना स्थित पालटोल पूर्व खेती इलाकाको बाटो हुँदै नेपालबाट भारततर्फ लैजाँदै गरिएको गाँजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म कप्तानगंजबाट सशस्त्र प्रहरी सहायक निरीक्षक नेत्रबहादुर भुजेलको कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीले शंकास्पद गतिविधि देखिएपछि निगरानी बढाएको थियो।सोही क्रममा प्रहरी टोलीलाई देख्नेबित्तिकै केही व्यक्तिहरूले टाउकोमा बोक्दै भारततर्फ लैजान लागिएको सामान छाडेर फरार भएका थिए।
सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरी का प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्कीका अनुसार प्रहरीले घटनास्थलबाट २८ केजी ६८० ग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। बरामद गरिएको गाँजा आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय देवानगंज, सुनसरीमा बुझाइएको उनले बताए।
सीमा क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि नियमित गस्ती र विशेष निगरानी कडाइका साथ सञ्चालन भइरहेको प्रहरी उपरीक्षक कार्कीको भनाइ छ । लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको छ।