: बंगलादेशमा बिहीबार सम्पन्न ऐतिहासिक निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले संसद्को दुईतिहाइभन्दा बढी सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ। यस जितसँगै करिब दुई दशकपछि बीएनपी पुनः बंगलादेशको सत्तामा फर्किएको छ।
बंगलादेशमा जेन–जी आन्दोलनपछि भएको निर्वाचनमा संसद्को प्रत्यक्ष निर्वाचन हुने ३०० सिटमध्ये २ सय ०९ स्थानमा बीएनपीले जित हात पारेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ। ३ सय ५० सदस्यीय ‘जातीया सङ्सद’मा बहुमतका लागि आवश्यक पर्ने १ सय ५१ सिट हो। यसमध्ये संसद्मा ५० सिट महिलाका लागि आरक्षित छन्। जुन विजयी दलहरूबीच समानुपातिक रूपमा बाँडिन्छ। निर्वाचन आयोगका अनुसार मतदानमा ५९.४४ प्रतिशत मत खसेको थियो। बंगलादेशमा १२ करोड ७० लाखभन्दा बढी योग्य मतदातामध्ये करिब आधा महिला छन् भने ५० लाख मतदाताले पहिलोपटक मतदान गरेका छन्।
बीएनपीले स्पष्ट बहुमत हासिल गरेसँगै पार्टी अध्यक्ष तारिक रहमानलाई देशको भावी प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। यससँगै लाखौं विद्यार्थीको सपना पूरा गर्नुपर्ने चुनौती पनि उनीसामु छ। उनीहरूले बलियो लोकतन्त्र, भ्रष्टाचारको अन्त्य र अवसरहरूको उपलब्धताको माग गरेका थिए।
यसैबीच, बीएनपी अध्यक्ष रहमानका प्रेस सचिव सलेह सिब्लीले रहमानले आफ्ना समर्थकहरूलाई शुक्रबारको नियमित जुममा नमाजसँगै विशेष प्रार्थना गर्न आह्वान गरेको र कुनै पनि किसिमका विजय जुलुस नगर्न निर्देशन दिएको जानकारी दिए।
जमात–ए–इस्लामीको बढ्यो प्रभाव
निर्वाचन मुख्यतः बीएनपी र इस्लामवादी जमात–ए–इस्लामी नेतृत्वको ११ दलीय गठबन्धनबीच प्रतिस्पर्धात्मक रह्यो। बहुमत नपाए पनि गठबन्धनले कम्तीमा ७७ सिट जित्दै उल्लेखनीय उपस्थिति जनाएको छ। यसमा पनि जमात–ए–इस्लामीले एकल ६८ सिटहरू जितेर संसद्मा दोस्रो ठूलो दल बनेको छ। यो एउटा इस्लामिक राजनीतिक पार्टी हो र यसलाई करिब एक दशकसम्म चुनावमा भाग लिनबाट रोकिएको थियो।
जमात–ए–इस्लामीका प्रमुख साफिकुर रहमान ढाकाबाट निर्वाचित भई संसद्मा प्रमुख प्रतिपक्षी नेताको रूपमा उदाउने सम्भावना छ। तर, पार्टीका सह–महासचिव अहसानुल महबुब जुबेयरले केही निर्वाचन क्षेत्रमा नतिजा ढिलाइ हुनु ‘असामान्य’ भएको बताएका छन्।
निर्वाचनको पृष्ठभूमि जेन–जी आन्दोलन
कडा सुरक्षा व्यवस्थाबीच सम्पन्न यो निर्वाचनलाई बंगलादेशको लोकतन्त्र पुनस्र्थापनाको महŒवपूर्ण परीक्षा मानिएको छ। यो निर्वाचन जुलाई २०२४ मा भएको विद्यार्थी नेतृत्वको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएपछि पहिलोपटक भएको हो। ४६ दिनसम्म भएको उक्त आन्दोलनमा करिब १४ सयभन्दा बढी प्रदर्शनकारीको ज्यान गएको थियो भने २० हजारभन्दा बढी घाइते भएका थिए।
आन्दोलनमा दमन गरेको भन्दै बंगलादेशको एक अदालतले गत नोभेम्बरमा हसिनालाई मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। हाल उनी भारतमा छिन्। बंगलादेशको अनुरोधका बाबजुद पनि भारतले उनलाई नसुम्पिँदा दुई छिमेकी देशबीच सम्बन्ध पनि तनावपूर्ण बनेको छ। हसिना देश छाडेर भागेपछि नोबेल शान्ति पुरस्कार विजेता मोहोम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।
सन् २०२४ मा बंगलादेशको शेख हसिनाको सरकार पतन गराउन नेतृत्व गर्ने विद्यार्थी आन्दोलनकारीहरूले पछि आफ्नै राजनीतिक दल नेसनल सिटजन पार्टी (एनसीपी) गठन गरेका थिए। बिहीबार सम्पन्न निर्वाचनमा उक्त पार्टीले जम्मा ६ सिट जितेको छ। जसमध्ये अधिकांश २० वर्षको उमेर समूहका छन्।
उनीहरू बंगलादेशको इतिहासमै सबैभन्दा कम उमेरका सांसद बन्ने तयारीमा छन्।जुलाई चार्टरमा जनमत संग्रह : ६० प्रतिशत मतदाताको समर्थन
बंगलादेशमा बिहीबार दुईवटा मतपत्रमार्फत मतदान सम्पन्न भयो। सेतो मतपत्रमा संसदीय निर्वाचन र गुलाबी मतपत्रमा जुलाई राष्ट्रिय चार्टरमाथिको जनमत संग्रह भयो। निर्वाचन आयोगद्वारा सार्वजनिक गरिएका पछिल्ला परिणामअनुसार मतदातामध्ये ६०.२६ प्रतिशतले जुलाई चार्टरको पक्षमा मतदान गरेका छन्। विद्यार्थी आन्दोलनपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले तयार गरेको यस चार्टरले संवैधानिक संशोधन, कानुनी परिवर्तन र नयाँ कानुनको कार्यान्वयनका लागि रोडम्याप प्रस्तुत गरेको छ।
अन्तर्राष्ट्रिय लोकतन्त्र र निर्वाचन सहयोग संस्थाका अनुसार चार्टरले बंगलादेशको शासन प्रणाली सुधार्न ८० भन्दा बढी प्रस्ताव समेटेको छ। जसमध्ये मुख्य सुधारहरूमा महिलाको राजनीतिक प्रतिनिधित्व बढाउने, प्रधानमन्त्रीको कार्यकाल सीमित गर्ने, राष्ट्रपतिको अधिकार विस्तार गर्ने, मौलिक अधिकारहरू सुनिश्चित गर्ने, न्यायपालिकाको स्वतन्त्रता संरक्षण गर्ने विषयहरू समेटेको छ। चार्टरले हालको ३५० सदस्यीय संसद्सँगै १०० सदस्यीय उच्च सदन स्थापना गर्न पनि सिफारिस गरेको छ।
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार गणना गरिएका मतमध्ये ७२.९ प्रतिशतले चार्टर अपनाउन समर्थन जनाएका छन् भने २७.१ प्रतिशतले यसमा विरोध जनाएका छन्। बीएनपीले भने चार्टरको कार्यान्वयनमा समर्थन गर्ने जनाएको छ। ढाका विश्वविद्यालयको कानुनका प्राध्यापक आसिफ नज्रुलका अनुसार मुख्य राजनीतिक दलहरू करिब करिब सहमति नजिक भए पनि प्रस्तावित उच्च सदन गठनको विशिष्ट विवरणमा भने मत भिन्नता देखिन्छ। बीएनपी संसदीय सिटको अनुपातमा गठन गर्न चाहन्छ भने जमात र एनसीपी समानुपातिक प्रतिनिधित्व प्रणाली चाहन्छन्। यस विवाद समाधान गर्नु हालको प्रमुख चुनौती रहेको उनले बताए।
बंगलादेशलाई छिमेकीको बधाई
नेपालकी प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेशमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा बधाई दिँदै लेखेकी छिन्, ‘१३ औं संसदीय निर्वाचनको सफल सञ्चालनमा बंगलादेश सरकार र जनतालाई हार्दिक बधाई ! बंगलादेश नेसनलिस्ट पार्टीलाई चुनावमा उल्लेखनीय विजय हासिल गरेकोमा तारिक रहमानलाई हार्दिक बधाई दिन्छु।’ नेपाल र बंगलादेशबीचकोे छिमेकी सम्बन्धलाई सुदृढ पार्न र पारस्परिक हितका क्षेत्रहरूमा सहयोगलाई सुदृढ गर्न रहमानसँग नजिकबाट काम गर्न आफू तत्पर रहेको उनले जनाएकी छन्।
भारत र पाकिस्तानका नेताहरूले पनि तारिके रहमानको जितको प्रशंसा गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो जितले ‘तपाईंको नेतृत्वप्रति बंगलादेशी जनताको विश्वास झल्काउँछ’ भन्दै द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउने इच्छा व्यक्त गरेका छन्। पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले बलियो लोकतान्त्रिक साझेदारी र साझा प्रगतिप्रति पाकिस्तान प्रतिबद्ध छ रहेको जनाएका छन्।
ढाकास्थित अमेरिकी दूतावासले बीएनपी र तारिक रहमानलाई चुनावी जितको बधाई दिँदै यसलाई ‘ऐतिहासिक विजय’ को संज्ञा दिएको छ। बंगलादेशका लागि अमेरिकी राजदूत ब्रेन्ट टी क्रिस्टेनसेनले सामाजिक सञ्जाल ‘एक्स’मा संयुक्त राज्य अमेरिका दुवै देशका लागि समृद्धि र सुरक्षाका साझा लक्ष्य हासिल गर्न बंगलादेशसँग सहकार्य गर्न इच्छुक रहेको जनाएका छन्। चीनले पनि बीएनपीलाई निर्वाचनमा अग्रता लिएकोमा बधाई दिएको छ। ढाकास्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा ‘नयाँ बंगलादेश सरकारसँग सहकार्य गर्दै चीन–बंगलादेश सम्बन्धका नयाँ अध्याय लेख्न चाहन्छौं’ भनेको छ।
पार्टी नेताबाट देशकै नेता बन्ने यात्रामा रहमान
बीएनपीका अध्यक्ष रहमान करिब १७ वर्षको बेलायत निर्वासनपछि बंगलादेश फर्किएका हुन्। सन् २००८ मा घुस र भ्रष्टाचारको अभियोग लागेपछि निर्वासनमा जान बाध्य भएका उनी अब बंगलादेशका प्रधानमन्त्री बन्ने तयारीमा छन्। ६० वर्षीय रहमान प्रभावशाली जिया परिवारका सदस्य हुन्। दशकौंदेखि बंगलादेशको राजनीतिमा प्रभुत्व जमाउँदै आएका दुई ठूला दलमध्ये एकको नेतृत्व जिया परिवारले गर्दै आएको छ। रहमानका अभिभावक यसअघि बंगलादेशका शीर्ष नेताको भूमिकामा रहेका थिए।
उनका बाबु बंगलादेशका पूर्वराष्ट्रपति जियाउर रहमान हुन् भने आमा पहिलो महिला प्रधानमन्त्री खालिदा जिया हुन्। यद्यपि, रहमानका लागि सत्ताको शिखरसम्मको यात्रा भने सहज थिएन। प्रतिद्वन्द्वीहरूले लगाएका नातावाद र भ्रष्टाचारका आरोप, लामो निर्वासन तथा किशोर अवस्थामा नै पिताको हत्या हुनुजस्ता घटनाले उनको राजनीतिक जीवन प्रभावित रहन पुग्यो।
रहमान सन् २००१ मा बीएनपी पार्टीको सक्रिय राजनीतिमा प्रवेश गरेका थिए। त्यतिबेला उनकी आमाको दोस्रो कार्यकाल प्रधानमन्त्रीका रूपमा सुरु भएको थियो। उनको पहिलो कार्यकाल सन् १९९१ देखि १९९६ सम्म चलेको थियो। सैनिक शासकबाट राष्ट्रपति बनेका उनका बाबु सन् १९८१ मा सैनिक कूमा मारिएका थिए। उनी बंगलादेशको स्वतन्त्रता संघर्षका प्रमुख पात्र थिए र उनले सन् १९७८ मा बीएनपी स्थापना गरेका थिए।
सन् २००२ मा रहमान पार्टीभित्र वरिष्ठ जिम्मेवारीमा बढुवा भएपछि उनले आफ्ना अभिभावकको पदछाप पछ्याउँदै पहिलो महत्वपूर्ण राजनीतिक कदम चाले। त्यतिबेला विपक्षीहरूले उनको उदयलाई खुलेआम नातावादको संज्ञा दिएका थिए। पछि उनी पार्टी अनुशासन कडाइका साथ लागू गराउने नेताका रूपमा परिचित भए।
सन् २००७ मा सैनिक समर्थित कार्यवाहक सरकारका बेला उनी भ्रष्टाचार अभियोगमा पक्राउ परे। विचाराधीन अवस्थामा आफूलाई यातना दिइएको दाबी गरेका रहमान १८ महिनापछि रिहा भएसँगै लन्डन प्रस्थान गरेका थिए। उनकी आमाको निधन हुनुभन्दा केही साताअघि मात्र उनी बीएनपीका अध्यक्ष बने। विदेशमै रहे पनि उनले पार्टीको रणनीति र नीतिनिर्माणमा प्रभाव जमाइरहे र सन् २०१८ मा आमालाई जेल सजाय सुनाइएपछि पार्टीको कार्यवाहक अध्यक्षको भूमिका निभाउँदै आएका थिए।
यसैबीच, शेख हसिना सत्तामा रहँदा रहमानमाथि विभिन्न आपराधिक मुद्दामा अनुसन्धान चलाइयो। सन् २००४ मा एक राजनीतिक सभामा भएको घातक ग्रिनेड आक्रमणलगायतका मुद्दामा उनलाई दोषी ठहर्याइयो। यद्यपि पछि उनले सबै अभियोगबाट सफाइ पनि पाए। रहमान अन्ततः २५ डिसेम्बर २०२५ मा बंगलादेश फर्किए। त्यसको पाँच दिनपछि उनकी आमाको निधन भयो। ९ जनवरीमा उनी औपचारिक रूपमा बीएनपीका नेता बने। राजनीतिक विश्लेषकहरूका अनुसार पार्टी नेतृत्वमा उनको उदय अपरिहार्य नै थियो।
राजनीतिक विश्लेषक मोहिउद्धिन अहमेदका अनुसार रहमानले राजनीतिका अँध्यारा पाटा मात्र होइन, द्वन्द्व र प्रतिशोधको राजनीति पनि नजिकबाट देखेकाले ती अनुभवबाट प्राप्त राजनीतिक बुद्धिमत्ता प्रयोग गर्दै उनी पार्टी नेताबाट देशकै नेता बन्न सक्छन् कि सक्दैनन्, त्यो अझै हेर्न बाँकी छ।
(एजेन्सीको सहयोगमा)