: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भागेको हेलिकोप्टर फेरि सिंहदरवार र बालुवाटारमा ल्यान्ड भए लोकतन्त्रलाई खतरा पर्ने बताएका छन्। अर्घाखाँचीको सन्धिखर्कस्थित शान्ति बगैँचामा सम्बोधन गर्दै सभापति लामिछानेले नयाँबाट देशलाई खतरा नभएको स्पष्ट पारेका थिए।
जेनजी आन्दोलनका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सेनाको हेलिकोप्टरबाट बालुवाटार छाडेका थिए। सोही प्रसंग कोट्याउँदै सभापति लामिछानेले उक्त कुरा बताएका हुन्।
उनले जनताले ल्याएको लोकतन्त्रको रक्षा नेताले नभएर जनताले गर्ने बताए। जनताले ल्याएको लोकतन्त्र जोगाउन आफूहरू लागि परेको उनको भनाइ छ। 'जसबाट लोकतन्त्रको खतरा थियो ऊ हेलिकप्टर चढेर भागिसक्यो। फेरि त्यो हेलिकोप्टर सिंहदरवारमा र बालुवाटारमा ल्यान्ड भयो भने लोकतन्त्र खतरामा पर्छ,' उनले भने।
उनले सहिदको रगत खेर नजाने गरी आफूहरूले काम गर्ने बताए। रास्वपाले सबैभन्दा बढी महिला, युवा, डाक्टर, इन्जिनियर, सामाजिक अभियन्ता, कवि, कलाकारलगायतलाई उम्मेदवार बनाएकोले आफ्नो पार्टीलाई ढुक्ककासाथ मत दिन आग्रह गरे। अर्घाखाँचीमा रास्वपाले उठाएको उम्मेदवार हरिप्रसाद भुसाललाई जिताएर पठाउनसमेत आग्रह गरेका छन्।