— सशस्त्र प्रहरीले सुनसरीको सीमा नाकाबाट पेस्तोल, गोली र लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलको बीओपी श्रीपुर टोलीले कोशी गाउँपालिका–३ जमुवा सीमा क्षेत्रबाट भारत अररिया जिल्लाका ३६ वर्षीय राम थेलन पासवानलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट एक थान पेस्तोल, तीन राउन्ड गोली र ब्राउन सुगरजस्ता लागूऔषध बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नम्बर ४ गण हेडक्वार्टर सुनसरीका अनुसार बरामद सामग्रीसहित पक्राउ परेका पासवानमाथि थप अनुसन्धान भइरहेको छ । गणका एसपी श्यामकुमार कार्कीले बराह बाहिनी पकलीका डीआईजी मनिष थापाको निर्देशनअनुसार सीमा नाकामा कडाइका साथ निगरानी गरिएका बेला हतियारसहित व्यक्ति पक्राउ परेको जानकारी दिए ।
एसपी कार्कीका अनुसार चुनावलाई लक्षित गरी सीमा क्षेत्रमा सुरक्षा निगरानी थप कडा पारिएको छ ।