— भरतपुरको प्रेमबस्ती स्कुलचोकमा आज बिहीबार बिहान सवेरै चार बजेतिर अटो रिक्सालाई स्कर्पियो गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार उक्त दुर्घटनामा थप चारजना घाइते भएका छन् । घाइतमध्ये तीनजनाको अवस्था मध्यम छ । एकजनाको सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले गम्भीर घाइते भएका ४४ वर्षीय मिनबहादुर खत्री क्षेत्रीको उपचारको क्रममा निधन भएको जानकारी दिए । माडी नगरपालिका–७ का क्षेत्रीको शरिरका विभिन्न भागहरुमा गम्भीर चोट लागेको थियो ।
उनी अटो रिक्सामा थिए । गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको बा प्र ०३–००१ ह २३८८ नम्बरको अटोलाई भित्रि सडकबाट आउँदै गरेको बा प्र ०१–०२९ च १४१७ नम्बरको स्कर्पियोले ठक्कर दिएको डिएसपी खनालले बताए ।
अटो रिक्सामा भएका माडी–७ का ७२ वर्षकी हरिकला खत्री क्षेत्रीको दाहिने खुट्टा भाँचिएको छ । त्यसैगरी ४५ वर्षकी अम्बिका जिसीको दाहिने खुट्टा र टाउकोमा भित्रि चोट रहेको प्रहरीले जनाएको छ । २२ वर्षका अमित खत्री क्षेत्रीको हात खुट्टामा चोट देखिएको छ । अटो रिक्साका चालक भरतपुर महानगरपालिका–१२ का ३३ वर्षीय सूर्य रिमालको निधारमा चोट छ । अमितको अवस्था सामान्य र अरु घाइतेको अवस्था मध्यम रहेको डिएसपी खनालले बताए ।
प्रहरीले स्कार्पियोका चालक नवलपरासी गैंडाकोट नगरपालिका–६ भाग्योदयचोकका ३४ वर्षीय कृष्ण विकलाई नियन्त्रणमा लिएको छ । सो घटनामा प्रेमवस्तीका जनक गिरीको पुजा सामाग्री पसलमासमेत गाडीले ठक्कर दिएको र सटर क्षतिग्रस्त भएको डिएसपी खनालले बताए ।