— महोत्तरीको मटिहानीमा खेत जोतिरहेको ट्याक्टर दुर्घटनामा दुई बालिकाको मृत्यु भएको छ ।
मटिहानी नगरपालिका–४ मझौरामा ट्याक्टर दुर्घटना हुँदा दुई बालिकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।
बिहीबार दिउँसो ज १ त ९७८२ नम्बरको खेत जोतिरहेको ट्याक्टर दुर्घटना हुँदा स्थानीय ईमराईन राईनकी ७ वर्षीया छोरी फरहाना खातुन र सिराहा नगरपालिका–११ मरडा बस्ने सम्तुला राईनकी ८ वर्षीया छोरी रफिया खातुनको मृत्यु भएको भट्टले बताए ।
खेत जोतिरहेको ट्याक्टरमा चढेका दुबै बालिका ट्याक्टरबाट लड्दा त्यसमा जोडिएको रोटाभेटरमा काटिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ। यता शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ।
फरार चालकको खोजी कार्य तीव्र पारिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।