: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म जारी भएका चुनावी प्रतिबद्धता कुनै पनि राजनीतिक दलहरूले ५ प्रतिशत पनि कार्यान्वयन नगरेको बताएका छन्। पूर्वका जिल्लाहरूमा चुनावी अभियानका लागि आज बिहान झापा आइपुगेका अध्यक्ष घिसिङले भद्रपुरमा पत्रकारहरूसँग गरेको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन्।
राजनीतिक दलहरूले लागू गर्न नसकेको चुनावी प्रतिबद्धता पत्र जारी गर्नुको कुनै अर्थ छैन। कार्यान्वयन गर्ने खालको चुनावी प्रतिबद्धता पत्र दलहरूले ल्याउनुपर्छ र त्यसैले उज्यालो नेपाल पार्टीले देशको समृद्धि र सुशासनलाई प्रमुख प्राथमिकतामा राखी कार्यान्वयन गराउने किसिमको प्रतिबद्धता पत्र ल्याउँदैछ। ‘त्यो प्रतिबद्धता पत्र अबको दुई/तीनभित्र सार्वजनिक गरिन्छ,’ अध्यक्ष घिसिङले भने।
यो देशमा धेरै राजनीतिक परिवर्तनहरू भए। जनताहरूले चुनेर पठाएका धेरै नेताहरूले नेतृत्व पनि गरे। तर, यो देशमा समृद्धि र सुशासनको कुरा कहिले पनि पूरा नभएको बताउँदै अध्यक्ष घिसिङले भने, ‘देशको विकास, समृद्धि र सुशासनको विषयलाई अब हामीले अगाडि बढाउनुपर्छ। अब नयाँ नेतृत्वले भ्रष्टाचारमुक्त समाज, विभेदरहित समाज, देशमै युवाहरूलाई रोजगारीको व्यवस्था र देशलाई अर्थतन्त्रमा आत्मनिर्भर बनाउने परिकल्पना बोकेर हामी अघि बढिसकेका छौं।’
उज्यालो नेपाल पार्टी डेलिभरी दिने पार्टी हो। हामी भाषण र गफ होइन, काममा र परिणाममा विश्वास गर्छौं। ‘परिणाम लिएर आएको पार्टीलाई आम जनताले विश्वास गर्नुपर्छ र नेतृत्वमा चुनेर पठाउनुपर्छ,’ उनले थपे। हिजोको जेनजी आन्दोलनको जुन एउटा माग थियो। त्यो मागलाई सम्बोधन गर्नलाई र यो देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउनका लागि नयाँ नेतृत्व र नयाँ सोच भएकालाई छान्नुपर्ने उनको भनाइ छ।