मुख्य समाचार
गुठी संस्थानले महाशिवरात्रि पर्वको तयारी पूरा
गुठी संस्थानले महाशिवरात्रि पर्वको तयारी पूरा

। गुठी संस्थानले महाशिवरात्रि पर्वको तयारी पूरा गरेको छ ।

संस्थानले मंगलवार पत्रकार सम्मेलन गरी फागुन १ गतेदेखि ५ गतेसम्म महाशिवरात्रि पर्व सञ्चालन गर्नको लागि तयारी पूरा गरेको जानकारी दिएको हो ।

यस वर्ष महाशिवरात्रि फागुन ३ गते मनाइँदैछ । महाशिवरात्री पर्व मनाउनको लागि संस्थानले पर्व अगाडी र पछाडी गर्नुपर्ने कार्यहरुको तयारी पूरा गरेको गुठी संस्थानमा प्रवक्ता जनक पोखरेलले जानकारी दिए ।

उनका अनुसार महाशिवारात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्र तथा काठमाडौंका विभिन्न अखडाहरूमा साधुसन्तको सेवा, पूजा तथा व्यवस्थापनका लागि संस्थानले आवश्यक तयारी पूरा गरेको छ ।

संस्थानले महाशिवरात्रि पर्व अवधिभर पशुपति क्षेत्रका मठ–मन्दिर तथा अखडाहरूमा उपस्थित साधुसन्तका लागि दाउरा, भोजन, पूजा सामग्री र दक्षिणाको व्यवस्था गर्ने उनले जानकारी दिए ।

प्रवक्ता पोखरेलका अनुसार फागुन १ गते संस्थानको शाखा कार्यालय पशुपतिका कर्मचारीहरूले राष्ट्रपतिबाट पशुपतिनाथ मन्दिरमा अर्पण गरिने तथा साधुसन्तलाई प्रदान गरिने सामग्रीहरूलाई परम्परागत विधिअनुसार सङ्कल्प गर्नको लागि राष्ट्रपति कार्यालयमा जाने तयारी छ ।

संकल्प सामग्रीमा राडी, च्यादर, बख्खु, कमण्डलु, रुद्राक्ष माला, धान, दाल, घिउ, फलफूल लगायत २१ प्रकारका सामग्री समावेश छन् । सोही दिन पशुपति मन्दिर परिसरमा साधुसन्तका लागि भोजन र दाउराको व्यवस्था गरिनेछ ।

फागुन २ गते अन्नपूर्ण आश्रममार्फत मन्दिर परिसरका साधुसन्तलाई भोजनको व्यवस्था गरिनेछ भने राम मन्दिर, भष्मेश्वर, निर्मल, मृगस्थली गोरखनाथ, वनकाली तथा थापाथली क्षेत्रका अखडाहरूमा दाउरा र भोजनको प्रवन्ध मिलाइनेछ । मुख्य दिन फागुन ३ गते शाखा कार्यालय पशुपतिबाट पञ्चामृतसहित पूजा सामग्री पशुपतिनाथ मन्दिरमा अर्पण गरिने उनले जानकारी दिए ।

सोही दिन साँझ मन्दिर परिसरमा बत्ती बालिनेछ । यसदिन साधुसन्तलाई दही, फलफूल तथा धुनी बाल्न दाउरा वितरण गरिने उनले बताए ।

फागुन ४ गते पनि मन्दिर परिसर र अखडाहरूमा साधुसन्तका लागि भोजन र दाउराको व्यवस्था निरन्तर रहनेछ भने फागुन ५ गते बिहान साधुसन्तलाई भोजन गराइएपछि दक्षताअनुसार विभिन्न रङ्काका कार्ड वितरण गरिनेछ । सोही कार्डका आधारमा तोकिएको दरअनुसार दक्षिणा प्रदान गरी साधुसन्तलाई बिदाइ गरिने उनले जानकारी दिए ।

‘गुठी संस्थानले महाशिवरात्री पर्व ५ दिनसम्म सञ्चालन गर्दछ । संस्थानको मुख्य काम परम्परा बमोजिम महाशिवरात्री पर्वमा आउने साधुसन्तको सेवा गर्नु हो । जसमा साधुसन्तका लागि धुनी जगाउन आवश्यक पर्ने दाउरा र परम्परा बमोजिमको भोजन उपलब्ध गराउने तथा दक्षिणासहित बिदाई गर्नु हो,’ उनले भने ।

गुठी संस्थानले यस वर्ष महाशिवरात्रि पर्वका लागि दाउरा खरिदमा ८ लाख रुपैयाँ र पर्व सञ्चालनका लागि ३२ लाख रुपैयाँ गरी ४० लाख रुपैयाँ छुट्याइएको उनले जानकारी दिए ।

गत वर्ष महाशिवरात्रि पर्वमा २ हजार ३८९ जना साधुसन्तलाई वर्गीकृत गरी दक्षिणासहित बिदाइ गरिएको थियो ।

दक्षिणा वितरणमा मात्र २० लाख ५८ हजार ६ सय ७१ रुपैयाँ खर्च भएको संस्थानले जनाएको छ । साथै करिव ५० हजार केजी दाउराको प्रबन्ध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिरहा कारागारमा भएको तनावपूर्ण अवस्था सामान्य बन्दै गएको छ । सुरक्षा समितिसँगको छलफलपछि करिव ३२ घन्टापछि अवस्था सामान्य बनेको हो । अहिले कैदीबन्दीहरू आफ्नो स्थानमा फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार बस्न र कारागार सञ्चालनमा सहयोग गर्न आग्रह गरेपछि अवस्था सामान्य बन्दै गएको हो । हातहतियार बरामद भएको विषयमा प्रहरीले ...
। राष्ट्रिय मुक्ति पार्टी, नेपालले आगामी फागुन २१ गते हुने निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । ‘स्वदेशवादीको आह्वान, जाँतो छापमा मतदान’ सो पार्टीका अध्यक्ष राजेन्द्र महतोले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । सामुदायिक भूमि, स्रोत स्वामित्व लागू गरी आर्थिक विषमता घटाउने, न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षाको गरेन्टी गर्ने, जातीय श्रेणीविहीन समाजको निर्माण गर्ने लगायतका विषय घोषणापत्रमा समोवेश ...
। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्न गठित जाँचबुझ आयोगकोम्याद थपिएकोमा प्रश्न उठाएका छन् । सरकारले म्याद थपको औचित्य पुष्टि गर्नुपर्ने उनको आग्रह छ । बुधबार वीरगंजको छपकैयामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सुशीला कार्कीलाई भन्न चाहन्छु–तपाईंको नेतृत्वको सरकारको आयु ...
। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष तथा उम्मेदवार राजीव झा रास्वपा प्रवेश गरेका छन् । धनुषा क्षेत्र नम्बर ३ का राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार झा आज रास्वपा प्रवेश गरेका हुन् । उनलाई एक समारोहबीच रास्वपाका उम्मेदवार मनिष झाले पार्टीमा स्वागत गरेका हुन् । उनी राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । उनीसहित राष्ट्रिय मुक्ति पार्टीका अन्य ...
। आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना गस्ती, पेट्रोलिङ सुरु गरिसकेको छ । महत्त्वपूर्ण प्रतिष्ठानहरूका साथै विमानस्थल, कारागारहरूको सुरुक्षा समेत सेनाले गर्न सुरु गरेको छ । निर्वाचनको अवधिमा नेपाली सेना तेस्रो घेरामा खटिने बताइएको छ । पहिलो घेरामा नेपाल प्रहरी/निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल/निर्वाचन प्रहरी र तेस्रो अर्थात् सबैभन्दा बाहिरी घेरामा ...