: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आफू चुनाव प्रचारप्रसारका लागि नभइ मतदाताहरूको भोट बुकिङ्ग गर्नका लागि आएको बताएका छन्।
लामिछाने नवलपरासी आउने भएपछि जिल्ला प्रशासन कार्यालयले उक्त कार्यक्रमलाई लक्षित गर्दै निर्वाचन आचारसंहिताविपरीत हुन सक्ने गतिविधिमा रोक लगाएको थियो।
अन्य जिल्लाको भेटघाटमा लामिछानेले सोझैं निर्वाचन चिन्हमा भोट हाल्न अपिल गर्दै आएका थिए। तर, प्रशासनले कडाइँ गरेपछि जिल्लामा भएका कार्यक्रममा उनले उम्मेदवारको नाम लिँदै घुमाउरो पारामा मतदातालाई मत दिन आग्रह गरेका थिए।
पार्टीको जिल्ला समितिले मंगलबार लामिछानेका लागि जिल्लाका विभिन्न ठाउँमा आयोजना गरेको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’मा उनले यस्तो बताएका हुन्। ‘ म प्रचारप्रसारका लागि आएको होइन, तपाईंको क्षेत्रमा योग्य उम्मेदवार उठाएका छौं। त्यसैले भोट बुकिङ् गर्न आएको हुँ।’ भोट किन्न आउने उम्मेदवारको पैसा लिन पनि उनले मतदातालाई उक्साए। ‘हाम्रा, बाटा, अस्पताल, स्कुल नबनाएका पैसा तिनै हुन। पैसा दिन आए मज्जाले लिनुस्। पाप लाग्दैन। तर गलत मान्छेलाई भोट दिए पाप लाग्छ ,'उनले भने।
आफूलाई सही लागेको व्यक्तिलाई उम्मेदवार बनाएर पठाएकाले अब सही र गलत छुट्टाउने जिम्मा मतदाताको भएकाले सोही अनुरुप विवेक प्रयोग गर्न मतदातालाई उनले आग्रह गरे। जिल्लामा दुई निर्वाचन क्षेत्र छन्। ति क्षेत्रका बजारदेखि भारतीय सीमा क्षेत्रसम्मका १२ स्थानमा कार्यक्रम आयोजना गरिएको छ । रास्वपाले क्षेत्र नम्बर १ मा विक्रम खनाल र क्षेत्र नम्बर २ मा नरेन्द्रकुमार गुप्तालाई उम्मेदवार बनाएको छ।