— सरकारले २३ र २४ भदौको घटना छानबिनका लागि बनेको जाँचबुझ आयोगको म्याद फेरि थपेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गृहमन्त्री अर्यालले भने, 'नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयअनुसार भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिन थप गर्ने ।'
आयोगको म्याद पछिल्लो पटक ८ माघमा २० दिन थप गरिएको थियो । सरकारले ५ असोजमा विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । ३ महिना म्याद रहेको आयोगले निर्धारित मितिमा काम नसकेपछि ३ पुसमा एक महिना म्याद थपिएको थियो । पछिल्लो पटक २० दिन म्याद थप गरिएको हो । आयोगको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन् ।
आयोगले छानबिनका क्रममा त्यतिबेलाका प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, गृह सचिव गोकर्णमणि दवाडी र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालको बयान लिएको थियो । यस्तै, कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा, नेकपा संयोजक पुष्पकमल दाहाल र काठमाडौं महानगरका पूर्वप्रमुख बालेन्द्र शाहसँग बयान लिएको थियो ।