। सिरहा कारागारमा कैदीबन्दीले तोडफोड आगजनी गरेका छन् । जेलभित्रै नाइकेको विषयलाई लिएर विवाद भएको हो ।
कारागरभित्रै अराजकता मचाएपछि सिराहा प्रहरीले नाइके इन्द्रजित यादव सहित १३ जनालाई पक्राउ गरेको छ । यादवलाई पक्राउ गरेको विषयलाई लिएर जेलभित्रै उनी पक्षका कैदीबन्दीहरूले तोडफोड र आगजनी गरेका हुन् ।
कारागारभित्र गोली र ठूलो परिमाणमा नगद रकम बरामद भएको थियो ।
जिल्ला सुरक्षा समितिले सोमबार गरेको अनुगमनका क्रममा कारागारभित्रबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र नगद १ लाख २० हजार रुपैयाँ फेला परेको हो ।
अनुगमनका क्रममा चुरोट, सुर्ती लगायतका प्रतिबन्धित सामग्रीसमेत जफत गरिएको छ ।
कारागारभित्र अवैध गतिविधिमा संलग्न रहेको आरोपमा कारागारका नाइके इन्द्रजित यादवसहित १३ जनालाई कारागारबाट निकालेर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार कारागारभित्र मदिरा, लागुऔषधको कारोबार, मोबाइल फोनको प्रयोग तथा चन्दाका नाममा जबर्जस्ती असुली हुँदै आएको विशेष सूचनाका आधारमा आज विहान सोमबार अपरेसन सञ्चालन गरिएको थियो ।
सो क्रममा नाइके यादवको कोठाबाट बन्दुक, गोली र नगद रकम बरामद गरिएको उनले जानकारी दिए।भाग्ने योजना बनाएको आरोपमा १३ जना कैदीलाई नियन्त्रणमा लिइएको छ । उनीहरूलाई हात बाँधेर र आँखामा पट्टी बाँधी कारागारको भित्री गेटबाट बाहिर निकालिएको थियो ।
घटनापछि कारागारको अवस्था तनावग्रस्त बनेको छ । केही कैदी छतमाथि चढेर ‘नाइके इन्द्रजितलाई फिर्ता गर’, इन्द्रजित दाइ चाहियो, हाम्रो माग पूरा गर, सिडिओ,जेलर, एसपी मुर्दावाद’ लगायतका नाराबाजी गरिरहेका छन् ।
कारागारभित्र कैदिबन्दीहरूले सिरक लगातका लुगाहरूमा समेत आगजनी गरेका छन् ।
कारागार भित्र र बाहिर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बाक्लो उपस्थिति रहेको छ ।
नियन्त्रणमा परेका कैदीहरू कर्तव्य ज्यान, डाका, अपहरण, ज्यान मार्ने उद्योग तथा लागुऔषधसम्बन्धी गम्भीर आपराधिक मुद्दामा संलग्न रहेको प्रशासनले जनाएको छ।
१५० जना कैदी राख्ने क्षमता रहेको सिरहा कारागारमा हाल ४३६ जना कैदीबन्दी रहेका छन्, जसले व्यवस्थापन र सुरक्षामा गम्भीर प्रश्न उठाएको छ ।