— सुर्खेतमा लागुऔषध सेवन गरी सवारीसाधन चलाइरहेका ६ जना पक्राउ परेका छन् ।
सोमबार वीरेन्द्रनगर नगरपालिका-११ मा जाँचको क्रममा उनीहरूले लागूऔषध सेवन गरेर सवारीसाधन चलाइरहेको भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
लापसे किटबाट चेक गर्दा सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–८ पर्साका २८ वर्षीय अजय थापा, वीरेन्द्रनगर–११ सुर्खेतका २५ वर्षीय कासीराम डाँगी र, २५ वर्षीय प्रकाश वि.क., चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ दैलेखका २४ वर्षीय हिक्मत शाही, सोही स्थान २५ वर्षीय जीवन शाही, र गुराँस गाउँपालिका–४ का २५ वर्षीय डिल बहादुर विकलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले जाँच गर्दा उनीहरूले लापसे गरेको भेटिएको हो । गत सातादेखि सुर्खेत प्रहरीले लागूऔषध प्रयोगकर्ताको पहिचान गर्न परीक्षण किट प्रयोग गर्न थालेको छ।
कर्णालीमा लागूऔषध कारोबार र प्रयोगकर्ता बढेको गुनासो आएकाले अघिल्लो आइतबारदेखि किटको प्रयोगबाट शंकास्पद व्यक्तिको पहिचान गर्न थालिएको जिल्ला प्रहरी सुर्खेतका एसपी सुधीरराज शाहीले बताए।