— गुल्मीमा मानव कंकाल फेला परेको छ । जिल्लाकाे कालीगण्डकी गाउँपालिका-४ मा पर्ने कालीगण्डकी नदी किनार घुमाउनेको ओडारमा कंकाल फेला परेको हो ।
नदीमा पानीको बहाव बढ्दा पानी आउने भागमा रहेको ढुंगाकाे कपेराेमा मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी गंगाबहादुर सारुले जानकारी दिए । स्थानीयले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा प्रहरी चाैकी पुर्तिघाट र इलाका प्रहरी कार्यालय रिडीकाे टाेली खटिएको उनले बताए। कंकाल घाेप्टाे परेको अवस्थामा छ । पूर्णरुपमा पहिचान हुन नसक्ने स्थितिमा रहेकाे उनले बताए । उक्त ठाउँमा चप्पल पनि छन् । नदीले बगाएर ल्याएका अन्य सामग्री पनि छरपस्ट देखिन्छन् ।
उक्त मानव कंकालको पहिचान खुलाउन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख एसपी नारायणप्रसाद अधिकारीले बताए ।