। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई लक्षित गरी धनकुटामा पनि नेपाली सेनाले गस्ती गर्दै आएको छ । कोशी प्रदेशका १४ वटै जिल्लामा सेना परिचालन भएसँगै धनकुटामा पनि सेनाले गस्ती जारी राखेको हो ।
निर्वाचनलाई स्वस्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन नेपाल सरकारले दिएको निर्देशन वमोजिम धनकुटामा पनि सेना परिचालन गरिएको भीम दल गण सल्लेरी ब्यारेक धनकुटाका प्रमुख सेनानी गणेश थापाले बताए ।
‘एकीकृत निर्वाचन सुरक्षा योजनामा अनुसार धनकुटाका सात वटै स्थानीय तहमा आवश्यकता अनुरुप सुरक्षालाई मध्यनजर गरी सेना परिचालन गरिएको हो,’ प्रमुख सेनानी थापाले भने । बजारदेखि गाउँसम्म आवश्यकता अनुसार सेनाले चुनावलाई लक्षित गरी गस्ती गर्दै आएको उनले बताए ।
एकीकृत निर्वाचन सुरक्षा योजनामा नेपाली सेनालाई अन्य सुरक्षा निकायसँगको सहकार्यमा नागरिक प्रशासनलाई सहयोग पुयाउने उल्लेख छ । साथै संवेदनशील क्षेत्र तथा महत्वपूर्ण पूर्वाधारहरुको सुरक्षा, निर्वाचन अवधिभर उत्पन्न हुन सक्ने आपतकालीन अवस्थामा शीघ्र प्रतिक्रिया, मतदाताको निर्वाध आवागमनमा सुनिश्चितता, निर्वाचन सामग्रीहरुको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरण गर्ने जिम्मेवारी तोकिएको छ ।
त्यसका लागि नेपाली सेनाले अस्थायी बेस खडा गरी सैनिक गस्ती र आवश्यकता अनुसार संयुक्त गस्तीलाई प्रभावकारी रुपमा संचालन गर्ने जनाएको छ । यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँगको समन्वय र सहकार्यमा महत्वपूर्ण तथा संवेदनशील क्षेत्रमा सुरक्षा जिम्मेवारी लिइने जनाएको छ । निर्वाचन दौरान शान्ति सु–व्यवस्था कायम राख्न सर्वसाधारणमा सबै सुरक्षा निकायहरुलाई सहयोग गर्न अनुरोध समेत नेपाली सेनाले गरेको छ ।
धनकुटामा कुल १ सय १९ मतदान स्थलमा १ सय ६६ मतदान केन्द्र रहने भएका छन् । यस्तै जिल्ला कारागार धनकुटामा र निर्वाचनमा नखटिएका कर्मचारीका लागि २ वटा अस्थायी मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधि सभा सदस्यका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा १ लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन् ।