— भदौरेमा दम्पत्ती हत्यामा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा बस्दै आएका ७४ वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती ८० वर्षीया चन्द्रमाया राईको हत्यामा संलग्न आरोपमा दाजुभाईलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दाजु ३४ वर्षीय धनबहादुर राना र र उनका भाई १७ वर्षीय बालक रहेका छन् । गत माघ १२ गते राति हत्या गरेर भागेका उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त प्रयासमा गत २३ गते पक्राउ गरिएको हो ।
ओखलढुंगा प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट भदौरेकै स्थानीय दुई दाजुभाई उक्त घटनामा संलग्न रहेको पुष्टि भएपछि उनीहरूलाई काठमाडौंको डल्लु क्षेत्रबाट पक्राउ गरिएको थियो । पक्राउ परेका दाजुभाइले मृतक बृद्धबृद्धाको साथमा रहेको धनमाल हत्याउनकै लागि हत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ।
उनीहरु दुबै जना हत्या गर्नकै लागि काठमाडाैंबाट योजना बनाएर आएको र हत्या गरिसकेपछि धनमाल लिएर काठमाडाैं फर्किएका थिए । हत्या पछि उनीहरुले मृतक चन्द्रमाया राईले लगाउने सुनको मारवाडी र सिक्री, मोबाइल, उनीहरुको पसलमा भएको रिचार्जकार्ड र नगदसहित सि माला(पुलिक) लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी मदन केसीले जानकारी दिए ।
ती दुई दाजुभाई काठमाडाैंस्थित डल्लुमा रहेको आफन्तको कोठामा बस्दै आएका थिए । गाउँमा भएका बृद्ध दम्पत्तीका सन्तान समेत नभएको र उनीहरुसँग लाखौँको धनमाल विशेष गरी सुन भएको कुरा थाहा पाएपछि उक्त धनमाल हत्याउनका लागि योजना बनाएर चिशंखुगढी गाउँपालिका ६ भदौरे आएका थिए । घटनाको दिन गाउँ आएर सोही दिन हत्या गरी सामान लुटपाट गरेर सोही राति उनिहरु काठमाडाैं तर्फ लागेका थिए ।
यसअघि पनि भदौरेमा मगर दम्पत्तीको हत्यापछि लुटपाट भएको थियो । प्रहरी अनुसन्धान अनुसार दुबै घटनामा हत्याको उद्देश्य समान प्रकृतिको छ । दुबै दम्पत्ती घरमा एक्लै बस्दै आएको तथा उनीहरुको घरमा किराना पसल भएकाले आर्थिक लालचका कारण हत्या भएको देखिएको हो ।