: स्याङजाको पुतलीबजार नगरपालिका–१० सुम्रेखोलामा एक दम्पतीमाथि कुटपिट गरी घाइते बनाएर भागेका पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गए राति युवाहरुको कुटपिटबाट पुतलीबजार नगरपालिका–१० सुम्रेखोला निवासी पृथ्वीराज अर्याल र श्रीमती संजीता नेपाल अर्याल घाइते भएका छन् ।
शुक्रबार राति १० बजेतिर सिद्धार्थ राजमार्ग हुँदै ग.२४ प. ५१०१ नम्बरको स्कुटरमा आफ्नो घर सुम्रेखोला जाँदै गर्दा बाटोमै रोकी केही ब्यक्तिले कुटपिट गरी घाइते बनाई उनीहरु भागेको प्रहरीले जनाएको छ । कुटपिटपछि फरार भएको भन्ने सूचनाको आधारमा कुटपिटमा संलग्न पाँच युवालाई शनिबार बिहान नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।
पक्राउ पर्नेमा पुतलीबजार–१० सुम्रेखोला ओडारेका २८ बर्षीय ‘हाकु काले’ भनिने विनोदबहादुर अर्याल, सोही वडाका ३० बर्षीय प्रविण राना, २५ बर्षीय रोहित गुरुङ, २७ बर्षीय अनुप राना र कान्छीबजार बस्ने २३ बर्षीय महेश भन्ने चेतनाथ अधिकारी रहेको प्रनाउ चौधरीले बताए ।
उनीहरुले प्रयोग गरेका ग. ५ प. १९१ र ग. १० प. ४७१३ नम्बरको दुई वटा मोटरसाइकल घटनास्थलबाट नियन्त्रण लिएको प्रहरीको भनाई छ । उनीहरु श्रीमान–श्रीमती हुन् । संजीता अर्याल जनप्रतिनिधि हुन् भने पृथ्वीराज अर्याल ब्यवसायी हुन् । उनीहरुमाथि कुटपिटबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।