: नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको आन्तरिक कारणले आसन्न निर्वाचन प्रभावित हुन नहुने बताएका छन् । नुवाकोट–१ मा उम्मेदवार रहेका डा. महतले काठमाडौंमा वित्तीय कर्मचारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै नयाँ भन्नेहरुको पुच्छर र शीर कहाँ छ भन्ने नै थाहा नभएको बताएका छन् ।
पूर्व पार्टी प्रवक्ता समेत रहेका डा. महतले भने, ‘अहिले नयाँ पार्टी भनेर आयो । उनीहरूको पुच्छर कहाँ छ, शीर कहाँ छ थाहा छैन । कुन दुलोबाट बाहिर निस्किन्छ, कुन दुलोबाट भित्र पस्छ, त्यो पनि थाहा छैन । दक्षिण भारतीय सिनेमा तपाईहरूले हेर्नु भएको छ, एउटा हिरोले पचासौं जनालाई एकै पटक हावामा उडाइरा जस्तरी पछार्दिन्छ । त्यो चाहिँ भर्चुअल दुनियाँ हो । रियल दुनियाँमा ५० जनालाई पछार्छ ? एक–दुई जनालाई पनि के हो, के हो थाहा छैन। त्यसो हुनाले हामी रियल दुनियाँमा बाँचिराछौं ।’
उनले सामाजिक सञ्जालमा झूटको प्रचार भइरहेको भन्दै गलतलाई गलत भन्न सक्नुपर्ने बताएका छन् । उनले अहिले पार्टीभित्रको आन्तरिक विषयमा नपरी चुनावमा केन्द्रित हुन पार्टीपंक्तिलाई आह्वान गरे । ‘पार्टी जीवनमा उथलपुथल आउँछ । कहिले कोही माथि पर्छ, कहिले तल पर्छ,’ महतले भने, ‘तर, यस्ता कुराले आम निर्वाचन लडिरहँदा प्रभाव पर्नु हुँदैन ।’ पार्टीका आन्तरिक कुराले पार्टी र देशको जीवन नै संकटमा पर्न नहुने उनले बताए ।
अहिले देश नै कठिन मोडमा रहेका बेला निर्वाचनबाट कांग्रेस बलियो बनेर आउनुपर्ने उनले बताए । ‘अहिले पूरा राज्यका संरचना ध्वंश गरेर झण्डै राज्यलाई असफल पार्ने कोशिस भएको छ । खर्बौको प्रत्यक्ष क्षति भएको छ । त्यसो गरेकामा गौरव महसुस गरेर प्रस्तुत गरिँदैछ । यसमा हामीले सही कुरा जनतालाई भनिदिनु पर्छ,’ नेता महतले भने ।