: आउँदो फगुनमा २१ मा हुने निर्वाचनका लागि उमेदवारहरुलाई भ्याईनभ्याई भएको छ । निर्वाचन परिणामलाई आफ्नो पोल्टामा पार्न डडेल्धुरामा पनि दल र उम्मेदवार लागिपरेका छन ।
मतदातालाई रिझाउने क्रममा उम्मेदवारहरुले विभिन्न बाचा गर्नुका साथै विगतमा गरेका कामहरु तथा क्रियाकलापलाई सम्झाई रहेका पनि छन् । यसैक्रममा नेपाली कांगे्रसका तर्फबाट उम्मेदवार रहेका कांग्रेस केन्द्रिय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले भने आफूले गरेका कामहरुको व्याख्या भन्दा पनि संख्यामा विश्लेषण गर्न अनुरोध गरेका छन् ।
उनले अन्य उम्मेदवारले गरेका प्रश्नहरुमा आफू जनप्रतिनिधिको रुपमा पहिलो पटक जनतासामु आएको बताउँदै आफू र पार्टीले गरेको कामलाई राम्ररी मनन गर्न आग्रह गरेका हुन् ।
कांग्रेसका निवर्तमान केन्द्रिय सदस्य रहेका नेता महरले कांग्रेसले गरेका काम र उम्मेदवारहरुको तुलना गरी मतदान गर्न समेत मतदाता समक्ष आग्रह गरेका छन् । प्रजातन्त्रका लागि लडेको पार्टी र नयाँ युगको सुरुवातका लागि जेनजीले उठान गरेका सुशासन कायम, भ्रष्टाचारका मुद्दालाई आत्मसात गरी कांग्रेस पार्टी अघि बढ्ने दृढता उम्मेदवार महरले व्यक्त गरे ।
अन्य दलका उम्मेदवारहरुले नेता तथा कार्यकर्तालाई रिझाउन दिने विभिन्न किसिमका भ्रमपूर्ण अफवाह र अभिव्यक्तिमा नलागी कांग्रेसले विगतदेखि गरेको कामलाई डाटामा हेरेर मुल्याकंन गरी मतदान गर्न आग्रह गरेको जनाएका छन् । साथै अन्य दलका उम्मेदवारले जुन किसिमका हत्कण्डा अपनाए पनि मतदाताले भने उम्मेदवारको मुल्यांकन गरी कांग्रेस उम्मेदवारलाई रोज्ने विश्वास समेत रहेको नेता महरले बताए ।
कांग्रेस उम्मेदवार महरसँगै चुनावी प्रतिष्पर्धामा नेपाली कम्युनिष्ट पार्टीबाट मानसिंह माल, एमालेबाट चक्र स्नेही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तारा जोशी रहेका छन् भने राप्रपाबाट गोविन्द खडायत र स्वतन्त्र उम्मेदवार गौरव ऐरलगायतका युवाहरु पनि रहेका छन् । १३ जनाले उम्मेदवारी दिएको डडेल्धुरामा चुनावी प्रतिष्पर्धा भने कांग्रेस, एमाले, रास्वपा र नेपाली कम्युनिष्ट पार्टीबीच हुने देखिन्छ ।
यस क्षेत्रबाट सात पटकका चुनावहरु कांग्रेसले नै जितेको र आठौं निर्वाचनमा पनि जिल्लावासीले कांग्रेसलाई नै रोज्ने उम्मेदवारले दावी गरेका छन् । कांग्रेसका निवर्तमन सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला र पकड क्षेत्र रहेको ठाउँबाट आसन्न निर्वाचनका लागि महरलाई टिकट दिई चुनावी प्रतिष्पर्धामा उतारिएको छ ।
nullजिल्लाको भित्रि मदेश क्षेत्रमा मतदाता भेट्घाटमा रहेका महरले २०४६ साल भन्दा पहिले भित्रि मदेश क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य, नदी नाला, खानेपानी लगायतको अवस्था अत्यन्त नाजुक रहेको स्मरण गर्दै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा यस क्षेत्रमा २०४६ सालपछि भएको विकासलाई डाटामा हेर्ने हो भने अहिले सबै कुराका लागि सहज भएको दावी गरेका छन् ।
उनले भने, ‘चीन-भारत दुबैको जस्तो विकास हुन नसकेको कुरालाई स्वीकार गर्नुपर्छ र कांग्रेस गर्छ पनि, अहिले बिज्ञान प्रविधिको युग छ, नव पुस्ताहरुले चाहेको विकासको बाटोमा हामी जान्छौ, कांग्रेस नयाँ भर्सनमा जान्छ ।’
डडेल्धुरालाई हिल स्टेशनको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले भने, ‘यसका लागि अत्तरिया, डडेल्धुरा चारलेन सडक विस्तार, तथा बिगतमा परशुरामको महाकाली नदीमा पुलको योजनालगायतका पूर्णता नभएका कामहरुलाई कांग्रेसको नेतृत्वले पुरा गर्छ ।’ महाकाली, पञ्चेश्वर, सोर्नाया, सेती पुन्तुरा र रगुनलगायतका नदिहरु जलराशिको रुपमा रहेको र यसको जनउपयोगका विषेश योजना तथा प्लान गरी उपभोगयोग्य बनाउन लागि पर्ने आफ्नो योजना रहेको उम्मेदवार महरले सुनाए ।