: खोटाङ र उदयपुरलाई जोड्ने महत्वपूर्ण यातायात मार्गका रूपमा रहेको सुनकोशी नदीको वंशिलाघाटमा बेलिब्रिज जडान गरी सञ्चालनमा आएपछि दक्षिणी खोटाङका हजारौं नागरिकको दैनिकी सहज बनेको छ । खोटाङको बराहपोखरी गाउँपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीचमा पर्ने बंशिलाघाटमा बेलिब्रिज निर्माण गरी शनिबारदेखि सञ्चालनमा आएपछि खोटाङ र भोजपुरका बासिन्दालाई पूर्वी तराई झर्न सहज हुने भएको छ ।
बंशिलाघाटमा पक्की पुल नबनेका कारण खोटाङ र भोजपुरका यात्रु, बिरामी तथा आवश्यक सामग्री बोकेका सवारीसाधन सञ्चालनमा ठूलो कठिनाइ उत्पन्न हुँदै आएको थियो । वर्षायाममा सुनकोशी नदीको जोखिमपूर्ण जनजीवन नै प्रभावित बनाउँदै आएको अवस्थामा वैकल्पिक संरचना निर्माणको माग उठ्दै आएको थियो । सोही मागअनुसार कोशी प्रदेश सरकारले बेलिब्रिज खरिद गरी जडानको जिम्मेवारी भौतिक पूर्वाधार विकास कार्यालय खोटाङलाई दिएपछि वंशिलाघाटमा बेलिब्रिज निर्माणको काम सम्पन्न भएको हो ।
यसअघि सुनकोशी नदीमा आएको बाढीले फोक्सिङटारको पक्की पुल विस्थापित भएपछि खोटाङ सदरमुकामदेखि दक्षिणी क्षेत्रका हजारौँ स्थानीयवासी दैनिक आवतजावतमा समस्यामा परेका थिए । सदरमुकाम दिक्तेलसहित बराहपोखरी, जन्तेढुंगा, खोटेहाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका बासिन्दालाई उदयपुरतर्फको यात्रा अत्यन्तै कठिन बनेको थियो ।
null
बेलिब्रिज निर्माणपछि नजिकको बजार तथा सेवा–सुविधा केन्द्र उदयपुरको बेलटार हुँदै धरान, इटहरी, विराटनगर र झापा पुग्न सहज हुने बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जराले बताए । उनका अनुसार बिरामी बोक्ने एम्बुलेन्सदेखि किसानका कृषिजन्य सामग्री बजारसम्म पु¥याउन यो पुल अत्यन्तै महत्वपूर्ण बनेको छ । यातायात सहज भएसँगै यस पुलले दीर्घकालीन रूपमा शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले बेलिब्रिज जडानका लागि एक करोड रुपैयाँ अनुमानित लागतसहित ठेक्का प्रक्रिया खोलेको थियो । प्रतिष्पर्धी बोलपत्रमध्ये रौतहटस्थित गुरुकुल बिल्डर्स एन्ड सप्लायर्सले करसहित ५७ लाख रुपैयाँ लागतमा बेलिब्रिज जडानको ठेक्का पारेको थियो । भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर विनम दाहालले बेलिब्रिज निर्माण तथा जडानका सबै प्राविधिक काम सम्पन्न गरी शनिबारदेखि सञ्चालनमा ल्याइएको जानकारी दिए ।
५१.८१ मिटर लम्बाइ र ४.१ मिटर चौडाइको यो बेलिब्रिज स्थानीय र प्रदेश सरकारको दीर्घकालीन योजनाअनुसार निर्माण गरिएको हो । यसले दक्षिणी खोटाङलाई उदयपुर हुँदै तराईका मुख्य सहरसम्म पुग्न सहज बनाउने इन्जिनियर दाहालको भनाइ छ । बेलिब्रिज सञ्चालनमा आएपछि स्थानीयको दैनिक जीवन सहज हुनुका साथै शिक्षा, स्वास्थ्य, व्यापार, कृषि तथा सामाजिक गतिविधिमा उल्लेखनीय परिवर्तन आउने स्थानीय कुलदिप थापाले बताए। बेलिब्रिज निर्माण थालनीसँगै आसपासका गाउँपालिकामा उत्साह र राहतको माहोल देखिएको उनको भनाइ छ । बाढीले पुल बगाएपछि विद्यालय जाने बालबालिका, उपचारका लागि अस्पताल धाउने बिरामी तथा दैनिक ज्यालादारी मजदुर सबैभन्दा बढी प्रभावित भएका थिए ।
बेलिब्रिज बनेपछि खोटाङबाट उदयपुरको बेलटार हुँदै तराईका जिल्ला झर्न र बिरामीलाई धरान बिराटनगरका अस्पताल उपचारका लागि ल्याउन सहज हुनेछ । व्यापारीहरू पनि पुल बनेपछि बेलटार, धरान, इटहरीलगायत बजारसम्म सामान ढुवानी सस्तो हुनेमा आशावादी देखिएका छन् । कोशी प्रदेश सरकारले एक करोड ८७ लाख रुपैयाँमा बेलिब्रिज खरिद गरी वंशिलाघाटमा निर्माण कार्य अगाडि बढाएको थियो ।
सुनकोशी पार गर्ने वैकल्पिक संरचना निर्माण भएसँगै खोटाङका बासिन्दाका लागि विकासका नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ । विशेष गरी कृषि उत्पादन सरल रूपमा बजारसम्म लैजान सकिने, स्वास्थ्य सेवा सहज हुने, दैनिक यातायातमा लाग्ने समय घट्ने तथा पर्यटकीय सम्भावना बोकेको दक्षिणी खोटाङमा आगन्तुकको आवागमन बढ्ने नेकपा एमाले खोटाङका जिल्ला सदस्य सुमन राईले बताए ।
बेलिब्रिज बनेपछि दक्षिणी खोटाङका गाउँपालिकाहरूलाई पूर्व–पश्चिम राजमार्ग र मधेस प्रदेशका सेवा–सुविधा केन्द्रसँग सिधा पहुँच उपलब्ध हुने उनको भनाइ छ। बेलिब्रिज सञ्चालनमा आएपछि खोटाङको बराहपोखरी, खोटेहाङ, जन्तेढुङ्गा, भोजपुरको आमचोक, रामप्रसाद राई गाउँपालिका लगायतका बासिन्दालाई उदयपुरको बेलटार हुँदै सुनसरी, मोरङ र झापा झर्न सहज हुनेछ ।