: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टीट्वेन्टी विश्वकप शनिबारदेखि सुरु हुँदा त्यसको रौनक नेपालमा पनि उत्तिकै रहनेछ। किनभने यो विश्वकपमा नेपाल पनि खेल्दैछ। नेपालले तेस्रोपटक टीट्वेन्टी विश्वकप खेल्न लागेको हो। यसअघि नेपालले सन् २०१४ र सन् २०२४ मा टीट्वेन्टी विश्वकप खेलेको थियो।
सन् २०१४ मा पहिलोपटक पारस खड्काको नेतृत्वमा नेपालले विश्वकपमा स्थान बनाएको थियो। त्यसको एक दशकपछि २०२४ मा विश्वकप खेलेको नेपालले रोहित पौडेलको कप्तानीमा विश्वकप खेल्न लागेको हो। भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना भइरहेको टीट्वेन्टी विश्वकपमा नेपाल समूह ‘सी’मा छ।
यस समूहमा नेपालसँगै इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्। अन्तिम समयमा आईसीसीसँग मैदानका विषयमा कुरा नमिल्दा समूह ‘सी’मा रहेको बंगलादेशले विश्वकप नखेल्ने निर्णय गरेको थियो। आईसीसीले बंगलादेशको स्थानमा स्कटल्यान्डलाई समावेश गरेको हो।
नेपालले सन् २०१४ यता हेर्ने हो भने क्रिकेटमा निकै ठूलो फड्को मारेको छ। सन् २०१४ मा पहिलोपटक विश्वकपका खेलहरू टेलिभिजनमा हेरेका युवाहरू नै यसपटक खेलाडीका रूपमा २०२६ को विश्वकप खेल्दै छन्। सन् २०१४ देखि लगातार नेपालको विश्वकपको टोलीमा रहेका खेलाडी हुन्, सोमपाल कामी। सन् २०१४ देखि लगातार नेपालले खेलेको तीन विश्वकपको सारथि बनेका सोमपालले तेस्रो विश्वकप खेल्दै छन्। सोमपाल कामी र करण केसीबाहेक अरू खेलाडी युवा छन्। रोहित पौडेलले पनि लगातार दोस्रोपटक टीट्वेन्टी विश्वकपमा नेपालको कप्तानी गर्दैछन्।
विश्वकपमा नेपालको डेब्यु
सन् २०१४ मा नेपालले पारस खड्काको नेतृत्वमा पहिलोपटक विश्वकप खेलेको थियो। नेपालले समूह चरणमा दुई जित निकालेको थियो। समूह ‘ए’ मा रहेर विश्वकपमा डेब्यु गरेको नेपालले हङकङलाई ८० रनले हराएको थियो। दोस्रो खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो भने समूह चरणको तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले हराएको थियो।
समूह चरणमा नेपाल दुई जितसहित दोस्रो स्थानमा रहेको थियो। त्यसपछि नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो छाप बनाएको थियो। विश्व क्रिकेटमा नेपाललाई हेर्ने दृष्टिकोण नेपालले पहिलोपटक विश्वकप खेलेपछि नै बनेको हो। कप्तान रोहित पौडेलले २०१४ मा टेलिभिजनमा विश्वकप हेरेपछि नै क्रिकेटमा मोह बढेको बताउँदै आएका छन्। तसर्थ नेपाली क्रिकेटमा नयाँ आशा र नयाँ गोरेटो कोर्ने काम २०१४ को विश्वकपले गरेको थियो।
एक दशकको त्यो पर्खाइ
नेपालले दोस्रो टीट्वेन्टी विश्वकप खेल्न १० वर्ष अर्थात् एक दशकको समय पर्खनुपर्यो। २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजना भएको विश्वकपमा सन् २०१४ मा पहिलोपटक विश्वकप खेल्दाका एक खेलाडीले खेलेका थिए। नेपाली राष्ट्रिय टिममा सिनियर खेलाडीका रूपमा सोमपाल कामीले दोस्रो विश्वकप खेले।
पहिलो विश्वकपमा युवा रहेका सोमपाल दोस्रो विश्वकप खेल्दा सबैभन्दा अनुभवी खेलाडी थिए। उनीबाहेक पहिलो विश्वकप खेलेको कुनै पनि खेलाडीले दोस्रो विश्वकप खेलेनन्। दोस्रो विश्वकप खेल्दा सोमपालसँग जुनियर खेलाडी थिए। आफूभन्दा ५–६ वर्ष कान्छा खेलाडीसँग उनले दोस्रो विश्वकप खेले। दोस्रो विश्वकपमा उनले आफ्नो पहिलो विश्वकपको अनुभव साट्ने मौका पाए। पहिलो विश्वकपपछि एक दशकको ब्रेक लागेको नेपाली क्रिकेटले दोस्रो विश्वकपमा कुनै पनि खेलमा जित दर्ता गर्न सकेन।
पहिलो विश्वकपमा बनाएको राम्रो छवि नेपालले पछ्याउन सकेन। पहिलो विश्वकपपछिको १० वर्षको समयान्तरमा नेपाली क्रिकेटले धेरै उतारचढाव बोकेको थियो। सन् २०१४ मा पहिलोपटक विश्वकप खेलेपछि सन् २०१६ मा नेपाल क्रिकेट संघ (क्यान) नै निलम्बनमा परेको थियो। तीन वर्षसम्म निलम्बनमा परेपछि नेपाल आईसीसीको प्रतिबन्धबाट मुक्त भएको थियो। सन् २०१८ मा नेपालले पहिलोपटक एकदिवसीय मान्यता प्राप्त गर्यो। त्यसपछि भने नेपाली क्रिकेटले प्रगतिको पथ समात्यो। घरेलु प्रतियोगिता र टीट्वेन्टी अन्तर्राष्ट्रिय तथा एकदिवसीय क्रिकेटमा लिग–५ देखि लिग–२ सम्म आइपुग्यो।
नेपालले दोस्रोपटक विश्वकप खेल्दा केही रोचक घटना भए। नेपालका कप्तान रोहितकुमार पौडेल २०२४ को विश्वकपमा टिमको नेतृत्व गर्ने सबैभन्दा कान्छा कप्तान थिए। २१ वर्षका उनले नेपालको कप्तानी गरेका थिए। नेपालले दक्षिण अफ्रिकासँगको खेल निकैनजिक पुगेर हार्यो। एक रनले नेपाल पराजित भएको थियो। यो खेलको चर्चा निकै पछिसम्म पनि विश्व क्रिकेटले गरिरह्यो। सन् २०२४ को विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेर खेलेको थियो।
जुन समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स रहेका थिए। नेपालले पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटको हार बेहोर्यो। श्रीलंकासँगको दोस्रो खेल वर्षाका कारण स्थगित भयो। तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भयो। चौथो खेलमा नेपालले बंगलादेशलाई २१ रनको नतिजा सुम्पिएको थियो।
जितविहीन भएर फर्केको नेपालले धेरै सकारात्मक पक्ष लिएर नेपाल फर्कियो। नेपालले बंगलादेशलाई १०६ रनमा रोकेको थियो। नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्यो। तर, ब्याटिङमा चुक्यो। ब्याटिङमा नेपाल ८५ रनमै अल आउट भयो। नेपालले तेस्रो खेलमा दक्षिण अफ्रिकासँग अन्तिम समयसम्म लड्यो। ११६ को विजयी लक्ष्य पछाएको नेपालले अन्तिम ओभर अन्तिम विकेट र अन्तिम ओभरमा ८ रन आवश्यक हुँदाको खेल सायद बिर्सने छैन। अन्तिम बलमा जितका लागि २ रन र खेल बराबरी गर्नका लागि १ रन चाहिएको अवस्थामा गुल्सन झा रनआउट हुन पुगेका थिए। यो खेल नेपालका लागि राम्रो सिकाइ रह्यो।
लगातार दोस्रो पटक विश्वकपमा
नेपालले सन् २०२४ पछि लगातार दोस्रोपटक टीट्वेन्टी विश्वकप खेल्दैछ। यो टिममा २०२४ मा नै खेलेका अधिकांश खेलाडी छन्। २०२४ को विश्वकप खेलेका ६ खेलाडी बाहिरिँदा ५ खेलाडी थपिएका छन्। सन्दीप लामिछाने यसपटक अन्तिम १५ को टिममा नै समावेश छन्।
सन् २०२४ मा भएको विश्वकप खेलेका प्रतिश जिसी, अनिलकुमार साह, अभिनाश बोहरा, सागर ढकाल, कमलसिंह ऐरी र कुशल मल्ल बाहिरिँदा आरिफ शेख, बसिर अहमद, नन्दन यादव, शेर मल्ल र लोकेश बमले पहिलोपटक विश्वकप खेल्ने अवसर पाएका छन्।
दर्शकका लागि विशेष
यो विश्वकप नेपालका खेलाडीका लागि मात्रै नभई नेपाली समर्थकका लागि पनि निकै खास छ। छिमेकी राष्ट्र भारतमा हुने नेपालको सम्पूर्ण समूह चरणको खेल प्रत्यक्ष हेर्न पनि नेपालीका लागि सहज हुनेछ। यसै कारण नेपालले खेल्ने खेलको टिकट सर्वाधिक माग हुने टिकटको दोस्रो स्थानमा रहेको छ।
भारतपछि नेपालको टिकट सर्वाधिक बिक्री भएको आईसीसीले जनाएको छ। नेपाल र इङ्ल्यान्डको खेलको टिकट त सोल्डआउट नै भएको छ। यसपटक नेपालले अस्ट्रेलियन मूलका प्रशिक्षक स्टुअर्ट लको प्रशिक्षणमा विश्वकपको मैदानमा उत्रिँदैछ।
इङ्ल्यान्डसँग परीक्षा
नेपालले आफ्नो पहिलो खेल आइतबार इङ्ल्यान्डसँग खेल्दैछ। समूह चरणको पहिलो खेल मुम्बईको वाङखडेको मैदानमा टीट्वेन्टी वरीयताको शीर्ष तीनको इङ्ल्यान्डसँग खेल्दा नेपाल जित निकाल्न चाहन्छ। टेस्ट राष्ट्रसँग नेपालले यसअघि पनि खेलेको छ।
नेपालले यसअघि वेस्ट इन्डिजसँग तीन खेलको शृंखला २–१ ले जितेको थियो। नेपालले टीट्वेन्टी अन्तर्राष्ट्रियमा टेस्ट राष्ट्रलाई हराएको यो पहिलो पटक हो। इङ्ल्यान्ड नेपालभन्दा वरीयतामा १३ स्थानमाथि छ। ब्याटिङ, बलिङदेखि फिल्डिङमा पनि इङ्ल्यान्डले नेपाललाई राम्रै चुनौती पेस गर्नेछ।
इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले विपक्षीलाई सम्मान गर्दै खेल्ने बताए। ‘हाम्रो पहिलो खेल नेपालसँग छ। हामी वर्तमानमा रहन्छौं। हाम्रो विश्वकप जित्ने लक्ष्य हो’, उनले भने। आईसीसीले आयोजना गरेको कप्तानहरूको प्रिम्याच कन्फ्ररेन्समा नेपालका कप्तान रोहित पौडेलले वाङ्खडेजस्तो ऐतिहासिक मैदानमा जितको लक्ष्य राखेको बताएका थिए। ‘हामी यसपटक यो विश्व प्रसिद्ध रंगशालामा एउटा नयाँ इतिहास बनाएर फर्कनेछौं’, उनले भनेका थिए।