: हरेक वर्ष बारीमा मकै रोप्नुअघि गरिने मकै विवाह धार्चे गाउँपालिकाको लाप्राकमा शुक्रबार सम्पन्न भएको छ। मुख्य बालीका रुपमा मकै खेती गरिने धार्चेका विभिन्न गाउँहरुमा परम्परागत रूपमा गरिने मकै विवाह लाप्राकमा शुक्रबार सम्पन्न भएको त्यहाँका मार्सिङ गुरुङले जानकारी दिए।
बिहीबार दिउँसो ४ बजेतिर गाडिएको मकैको बिउ शुक्रबार बिहान ८ बजेतिर बाजागाजासहित निकालेपछि मकै बिहे सुरु गरिएको गुरुङले बताए। बाजागाजा, नाचगानसहित घाँटु कन्या र कुमारलाई डोलीमा बोकेर दिनभर गाउँ र आसपासको बारी परिक्रमा गरेपछि जन्ती पुनः गाउँमा पुगेर भुटेको मकैको भोजभतेर खाने प्रचलन रहेको स्थानीय मार्सिङ गुरुङले जानकारी दिए।
गोरखाको धार्चे गाउँपालिका सबै गाउँमा मकै बिहे पिता पुर्खादेखि चल्दै आएको चलन हो। माघ पूर्णिमापछि धामी, जैसीले लगन, साइत जुराएर मकै बिहे गर्ने गरिन्छ। मकै बिहे नगरी बारीमा रोप्नु हुन्न भन्ने धार्मिक, सांस्कृतिक मान्यता रहेको स्थानीयको भनाइ छ। ‘मकैको बिहे गरेपछि बल्ल बारीमा रोप्न सुरु हुन्छ’, गुरुङले भने।
उनका अनुसार शुक्रबार लाप्राकका गाउँले सबै उर्लिएर धुमधामका साथ मकैबिहे गरेका छन्। गाउँले सबै मकैको जन्ती गए, नाचगान गरे, मकैको भोज भतेर खाएर रमाए। लाप्राकलगायत गुरुङ, घले समुदायको बसोबास रहेको उत्तरी गोरखाको धार्चे गाउँपालिका भित्रका लाप्राक, गुम्दा, सिङ्ला, उहिया, खोर्ला, लप्सीबोट, यमगाउँ, खानीगाउँ, लापु लगायतका गाउँमा परापूर्व कालदेखि मकै विवाह गर्ने चलन छ।
लाप्राकमा शुक्रबार मकै बिहे गरे पनि कतिपय गाउँमा गरिसकेका छन् भने कतिपयमा लगन पारेर मकै बिहे सम्पन्न गर्दैछन्।
बोन धर्मावलम्बी प्रकृति पूजक यहाँका किसानहरु मकैको उब्जनी राम्रो होओस्, असिना पानीले बाली नष्ट नगरोस्, गाउँमा रोग नफैलियोस् भन्ने कामनासहित मकैको बिहे गर्ने गर्छन्।
जैसीले निकालेको साइतअनुसार विवाहको अघिल्लो दिन बिहीबार मकैको घोगा जमिनमा गाड्ने र त्यसबेलादेखि गाउँमा बाजागाजा बजाउन नहुने चलन छ। ‘आज बिहान ८ बजे मकैको बिउ माटोबाट निकालेपछि बाजा खुल्यो अनि नाचगान गर्दै जन्ती निस्कियो’, संस्कृति, परम्पराका जानकार गुरुङले भने, ‘गाउँभन्दा केही पर जंगलमा छाप्रो बनाएर घाटु कन्यालाई लुकाएर राखिन्छ। अनि जन्ती त्यहाँ पुगेर कन्या र कुमारलाई डोलीमा बोक्दै ढ्याङ्ग्रो, मादल र झ्याली लगायतका बाजागाजासहित नाचगान गर्दै गाउँमा फर्किन्छौँ।’
जन्ती जाँदा आफ्नो घरबाट लगेको एक–एक घोगा मकै एकै ठाउँमा थुप्रो लगाइन्छ। त्यो मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ। यही मकैलाई अरू बिउमा मिसाएर गाउँका सबै किसानले बारीमा मकै रोपिने लाप्राकका बिसबहादुर गुरुङको भनाइ छ।
बेलुका फेरि ठूलोआँगनमा पुगी नाचगान गरी भुटेको मकैको भोज खाएपछि साँझ घाटु नाँचसँगै मकै बिहे समापन हुने गुरुङ बताउँछन्।
‘यो एउटा प्राकृतिक पूजा हो, बर्सेनि माघ १५ गतेदेखि फागुन १५ गतेसम्ममा लगन जुराएर मकै बिहे गर्ने चलन छ’, गुरुङले भने।