: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुपन्देही क्षेत्र नम्बर–१ का उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले पार्टीबाट राजीनामा दिएका छन् । रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह निकट कुँवरले प्रेस विज्ञप्ती जारी गर्दै पार्टीलाई विभिन्न आरोप लगाउँदै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।
उनले पार्टीमा कुनै प्रणाली नभएको बताउँदै आर्थिक चलखेल भएको समेत आरोप लगाउँदै यस्तो पार्टीमा बसिरहनु उचित नभएकाले राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । पार्टीले यसअघि अंगीकार गर्दै सार्वजनिक गरेको ‘प्राइमरी इलेक्सन’ नगरी आफूखुशी उम्मेदवार बनाएपछि त्यसखालको पार्टीमा बस्नुको अर्थ नभएको उनले भनाई छ । उनले रास्वपाले आर्थिक चलखेल गरेकै कारण शंकास्पद भएर पार्टी छाडेको बताएका छन् ।
रुपन्देही–१ बाट कुँवरसहित ६ जना सिफारिस भएका थिए । तर, प्राइमरी इलेक्सन नगरी पार्टीले सो क्षेत्रमा सुनिल लम्साललाई उम्मेदवार बनाएको उनको भनाइ छ । लम्साल रास्वपा वरिष्ठ नेता बालेन शाह नगर प्रमुख हुँदा सल्लाहकारको भूमिकामा थिए । उनी पार्टीका महामन्त्री समेत हुन् ।
रास्वपाले प्राइमरी इलेक्सनका नाममा आकांक्षीबाट पैसा असुल्ने तर प्राइमरी इलेक्सन नगर्ने विषय भ्रष्टाचारको नयाँ तरिका भएको उनको आरोप छ । रास्वपाले विदेशमा रहेका धेर नेपालीको भावनामा खेलबाड गरेको र विदेशमा ‘सेटल’ भएर बसेका नेपालीलाई धोका दिएर गलत अभ्यास गरेको कुँवरको भनाइ छ ।