। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न विगतको भन्दा सुदृढ सुरक्षा व्यवस्था मिलाइने बताएका छन् ।
बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् ।
निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरिएको र सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइने उनको भनाइ छ ।
उनले अति संवेदनशील र संवेदनशील क्षेत्रमा पूर्वतयारीसहित विशेष सुरक्षा प्रबन्ध योजना लागु गरिने बताए ।
उनले मुलुकमा राजनीतिक हिंसा र द्वन्द्व न्यूनीकरण भई चुनावी वातावरण बन्दै गएको भन्दै तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह समेत गरे ।
उनले २३ र २४ भदौमा देश तथा मानवता गम्भीर संकटमा पुगेको स्मरण गराउँदै वर्तमान सरकार देश र नागरिकलाई असुरक्षित हुन नदिने प्रतिवद्धतासहित अघि बढेको बताए ।
उनले भने, ‘हामीले निर्वाचन क्षेत्रलाई तीन वटा वर्गमा विभाजन गरेका छौँ । हामीले अति संवेदनशील र संवेदनशील क्षेत्रमा सुरक्षाा प्रबन्धका लागि पूर्वतयारीसहित जान्छौँ । विगतको भन्दा सुदृढ सुरक्षा व्यवस्थासहित निर्वाचन गराउँछौँ । २३ र २४ भदौमा मानवता र मुलुक निकै संकटग्रस्त अवस्थामा पुगेको थियो । त्यहाँबाट हामी यहाँसम्म आइसकेका छन् । देश र नागरिक असुरक्षित हुने कुरा हुन दिन्नौँ भनेर आएका छन् । राजनीतिक हिंसा र द्वन्द्व न्यूनीकरण तथा चुनावको वातावरण बन्दै गएको कारण त्यहीअनुसारको तयारी गरेका छौँ । प्रधानमन्त्रीज्यूले चुनावमा एक थोपा पनि रगत बग्न दिन्नौँ भन्नुभएको छ । सोही कुरालाई मुलमन्त्र बनाएर हामी निर्वाचन सम्पन्न गराउँछौँ । हिउँ परेको समयमा बसाइसराइ हुने ठाउँमा सो समयको मौसमअनुसार व्यवस्था गर्छौँ ।’
प्रधानमन्त्रीले चुनावमा एक थोपा पनि रगत बग्न नदिने प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै सोही लक्ष्यलाई मूलमन्त्र बनाएर निर्वाचन सम्पन्न गराइने उनको भनाइ छ ।