: नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा 'बादल'ले देश जलाउने र देश जलाउनेको सरकार नांगिँदै गइरहेको बताएका छन्। बुधबार च्यासलमा आयोजित एमालेको पत्रकार सम्मेलनमा उपाध्यक्ष बादलले देशका संविधानविद् र राजनीतिक दलले अहिलेको सरकार असंवैधानिक रहेको र देश जलाउनेको गतिविधि नियालिरहेको बताएका हुन्।
सरकार दिनप्रतिदिन स्वदेश र विदेशमा नांगिदै गइरहेको उनको तर्क छ। उनले पछिल्लो समय भदौ २३ र २४ को परिघटनाका स्टेक होल्डरहरुनै सरकारको कामप्रति विरोध गर्न थालेको बताए।
निर्वाचन परिचालन कमिटीका संयोजकसमेत रहेका बादलले निर्वाचनमा अनेक षडयन्त्र गर्ने, दलहरुलाई विवादमा तान्ने, न्यालयमा आफ्नो छाँया पार्ने काममा सरकार तल्लीन रहेको दाबी गरे। निर्वाचित सरकारलाई अपदस्त गर्ने कार्य षडयन्त्र भएको उनको भनाई छ। बादलले प्रायोजित ढंगबाट गठन भएको सरकारले मौसमको बहानामा निर्वाचन सार्न खोजिरहेको दाबी गरे।
प्रधानमन्त्री सुशिला कार्कीको अभिव्यक्तिले पनि त्यस कुराको पुष्टि गर्ने धारणा राखे। ‘अहिलेको सरकार निर्वाचन सार्ने र नगर्ने बहाना खोज्दैछ। प्रधानमन्त्री सुशिला कार्कीको अभिव्यक्तिले त्यो देखाइरहेको छ। एमालेले त अहिलेको सरकारले चुनाव गराउँदैन भनिरहेका नै थियौं। अहिले हिमपात र मौसमको बहानामा दुई चरणमा गर्ने सरकारले भनिरहेका छन्।’ उनले भने, ‘सार्नको पछाडि यो अवैध सरकार हो, प्रायोजित ढंगले गठन गरिएको हो। सरकारले पुराना स्थापित पार्टी र दलका नेतालाई सखाप पार्ने र नयाँ पार्टीका नाममा देश जलाउनेलाई स्थापित गर्ने मिसन दिइएको थियो। तर त्यो पूरा नहुने देखिएपछि मौसम र हिमपातको बहानामा चुनाव सार्ने षडयन्त्र भइरहेको छ।’
उपाध्यक्ष बादलले एमालेका अध्यक्ष केपी शर्मा ओली विदेशीसामू नझुकेको र स्वाभिमानी भएकाले प्रहार भइरहेको बताए। बादलले उनीहरुले ओलीविरुद्ध जुन घेराबन्दी खडा गरेका थिए त्यो भत्किँदै गइरहेको र जनता सचेत भइसकेको उल्लेख गरे। ओली नेतृत्वको सरकार देशभक्ति भएकाले बाह्य शक्तिसँग नझुकेकाले विघटनको षडयन्त्र रचिएको जनताले भन्न थालेको बताए। ओलीले विकास र समृद्धिको सपना आरम्भ गरेकाले देशले आर्थिक वृद्धिदर हासिल गरिरहेको तथ्य रहेकाले हावा सपना नबाँडेको भन्ने विषय स्थापित पुन हुन थालेको उनले उल्लेख गरे।
बादलले एमालेलाई पहिलो पार्टी बनाउन सबै लागि परिरहेको जानकारी गराए। उनले आगामी दिनमा बन्ने सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आंकाक्षा कसरी पूरा गर्ने र नीति बनाउने भनेर घोषणा पत्रको गृहकार्य भइरहेको बताए।