: नेकपा एमालेका सचिव महेश बस्नेतले संसद पुनर्स्थापनाको माग गर्दै दायर रिटमाथि सर्वोच्चले तत्काल फैसला गर्नुपर्ने बताएका छन् । काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बोल्दै सचिव बस्नेतले यो मुद्दाबाट सर्वोच्च अदालत भाग्न नपाउने बताए ।
उनले अदालत डराएर न्यायिक प्रक्रियामा ढिलाइ भइरहेको आरोप पनि लगाएका छन् । न्यायिक प्रक्रिया कसैको डर, दबाब, लोभ–प्रलोभन तथा हस्तक्षेपमा पर्न नहुने उनको भनाइ थियो । महाभियोगको डर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाबका कारण न्यायाधीशहरू निर्णयबाट पन्छिएको अवस्था देखिएको उनको दाबी छ ।
उनले भने, ‘आज पनि पेसी चढ्छ भनेर हामीले आश गरेका थियौं, फेरि सर्यो । प्रधानन्यायाधीशलाई लाग्दै नलागेको रोग लागेर गायब हुने, फोन अफ गर्ने र पन्छिने प्रवृत्ति बनेको छ । यसले हामी निकै ठूलो वैदेशिक आक्रमणमा भएको पुष्टि हुन्छ । हाम्रो सर्वोच्च, उच्च र जिल्ला अदालत मात्रै नभई न्यायिक प्रणाली नै जलिरहेको अनुभूति हुन्छ ।’
उनले संसद पुनर्स्थापनाभए चुनावको नाममा भएका सारा गतिविधि र खर्च खेर जाने भएकाले तत्काल फैसला गर्नुपर्ने बताएका हुन् । सर्वोच्चमा मुद्दा भएकाले ढुक्कले चुनावमा जान नपाएको समेत उनले बताएका छन् ।