— नेपाली सेनाले फागुन २ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय एकताका लागि ‘पिस एण्ड युनिटी रन’ आयोजना गर्ने भएको छ ।
भावनात्मक सम्बन्धको विकास, सामाजिक एकता तथा राष्ट्र पहिचानको बलियो आधार स्तम्भको रुपमा स्थापित रहेको खेलकुद क्षेत्रको विकास तथा नागरिक सैनिकबीचको सम्बन्ध प्रगाढ बनाउने उदेश्यले ‘पिस एण्ड युनिटी रन’ प्रतियोगिता आयोजना गर्न लागेको हो ।
उत्तर पश्चिम पृतनाले यसवर्ष महाशिवरात्री तथा सेना स्थापनाको २६३औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न भन्दै दौड प्रतियोगिता आयोजना गर्न लागेको हो ।
उत्तर–पश्चिम पृतना हेडक्वार्टर नेमारेको आयोजनामा हुने प्रतियोगितामा लामो र छोटो दूरीका दौडसहित पैदल यात्रा समावेश गरिने छ । पृतनाका उपरथि दिपेशजंग शाहका अनुसार सामाजिक एकता तथा राष्ट्रको पहिचानको बलियो आधार स्तम्भको रुपमा स्थापित रहेको खेलक्षेत्रको विकाससँगै नागरिक र सैनिकको सम्बन्ध प्रगाढ गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
पृतनापति शाहले भने, ‘बलियो एकता, सुरक्षित राष्ट्र नाराका साथ पाँच किलोमिटर पैदल यात्रादेखि १० किलोमिटरसम्मको समावेश गरिएको छ ।’ पाँच किलोमिटर दौडमा सरकारी कार्यालयमा कार्यरत कर्मचारी, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाली सेनाका इच्छुक सकल दर्जा, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू र भूतपूर्व सुरक्षाकर्मीहरू सहभागी हुनेछन् ।
१० किलोमिटरतर्फ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महिला पुरुष दौड हुने भएको छ । ५ किलोमिटर दौडमा सैनिक आवासीय महाविद्यालय, इम्प्यानेलड विद्यालयहरु तथा एनसीसी तालिम सञ्चालन भइरहेका कक्षा ८ देखि १२ सम्मका छात्राहरु सहभागिता हुने छन् ।
खुल्ला पुरुष र खुल्ला महिला दौडको प्रतियोगितामा करिब ८ सय सहभागिता रहने अपेक्षा सेनाले गरेको छ । विभिन्न दौडमा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई नगर पुरस्कार र प्रमाणपत्र पाउने छन् ।