— फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि बर्दियामा ४ हजार ५ सय ८० सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निर्वाचन प्रहरी भने तालिम सकिएपछि एक साताभित्र परिचालित हुने छन् । निर्वाचन सुरक्षाका लागि सबैभन्दा बढी निर्वाचन प्रहरी २ हजार २५ र नेपाल प्रहरीबाट १ हजार ८ सय सुरक्षाकर्मी परिचालित हुने प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए । यसैगरी सशस्त्र प्रहरी ७ सय ५५ र सेना ४ सय जना निर्वाचनको सुरक्षाका लागि परिचालन हुने उनले बताए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदानका लागि छुटफुटबाहेक शिक्षक र कर्मचारीको विवरण लिने काम भइसकेको छ । मतदानमा खटिने सबैभन्दा बढी शिक्षक रहेको निर्वाचन कार्यालय रहेको छ । मतदान खटिने २ हजार ६ सय ३४ शिक्षक र १ हजार ९ सय ९१ कर्मचारी परिचालित हुने छन् ।
बर्दिया क्षेत्र नम्बर १ मा ७५ मतदानस्थल र १ सय ९९ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अनुप ढकालले बताए । क्षेत्र नम्बर २ मा १ सय ८८ मतदानस्थल र ७९ मतदान केन्द्र रहेको छ । ०७९ को प्रतिनिधिसभा निर्वाचनका मतदानस्थल यथावत राखिएको उनले जनाए ।
Hardik IVF
Laxmi Sunrise bank
फागुन २१ को निर्वाचनका लागि ३ लाख २३ हजार २ सय ६६ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा १ लाख ६८ हजार र क्षेत्र नम्बर २ मा १ लाख ५५ हजार २ सय ३२ मतदाता रहेका छन् । अन्यमा ६ जना मतदाता रहेका छन् । ०७९ को निर्वाचनमा बर्दियामा ३ लाख ११ हजार ४ सय १० मतदाता रहेका थिए ।