मुख्य समाचार
नेपाल आयल निगमले बुधबारदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने जनाएको छ 
नेपाल आयल निगमले बुधबारदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने जनाएको छ 

— नेपाल आयल निगमले बुधबारदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने जनाएको छ । केही दिनयता काठमाडौं उपत्यकामा ग्यास अभाव देखिएको थियो । भारतबाट पर्याप्त एलपी ग्यास ल्याइएकाले अब अभाव नहुने निगमले जनाएको हो ।

करिब १० दिन ग्यास अभाव भए पनि अब त्यो समस्या नरहेको निगमका प्रमुख कार्यकारी अधिकृत चण्डिकाप्रसाद भट्टले बताए । ‘उपत्यकामा नेपाल ग्यास र एभरेस्ट ग्यासका उपभोक्ता धेरै छन्, निगममार्फत भारतबाट आयात गरिएको ग्यास ठूलो परिमाणमा ती उद्योगले लान्छन्,’ उनले

भने, ‘अहिले चिसो मौसम छ, जसले गर्दा खपत पनि बढी हुने गरेको छ ।’ धेरै उपभोक्ता भएका उद्योगको ग्यास अभाव भएको उनले बताए ।

‘एलपीजी भारतबाट आउने हो, ती ठाउँबाट लोड हुन समय लाग्यो, आएको ग्यासको रुजु गर्न एक/दुई दिन थप समय लाग्दा खाली सिलिन्डरमा भर्न ढिलाइ भएको हो,’ उनले भने, ‘१२ माघमा भारतको गणतन्त्र दिवस परेको र आइतबार ग्यास ल्याउने रिफाइनरी तथा बोटलिङ प्लान्टहरू बन्द हुने हुँदा त्यसको असर नेपालमा परेको हो ।’

ग्यास अभाव भएपछि लुकाएको आशंकामा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र आयल निगमले संयुक्त अनुगमन गरिरहे पनि ठूलो मात्रामा ग्यास मौज्दात राखेको नपाइएको उनले बताए ।

तारकेश्वर नगरपालिका–६ लोलाङ हाइटका रामकृष्ण खड्काले नमस्ते ग्यास बिक्री गर्दै आएका छन् । उनले एक महिनाअघि सिलिन्डर भर्न उद्योगमा पठाए पनि अहिलेसम्म नआएको बताए । ‘ग्यास अभाव भएको त महिना दिन हुन लाग्यो,’ उनले भने, ‘बुझ्दा अब समस्या हुँदैन भन्ने जानकारी पाएका छौं ।’



आयल निगमले देशभर रहेका ६० उद्योगमा भारतबाट आएको ग्यास उपलब्ध गराएको जनाएको छ । अहिले मासिक रूपमा भारतबाट ४९ हजार ५ सय मेट्रिक टन ग्यास आउने गरेको छ । यो भनेको ४ सय ९५ लाख केजी हो । ‘दैनिक ८५ देखि ९० वटा बुलेट (ग्यास बोक्ने ट्यांकर) भारतबाट ग्यास लिएर आउने गर्छन्,’ प्रमुख कार्यकारी अधिकृत भट्टले भने, ‘अघिल्लो मंगलबार १ सय ३८ वटा ग्यास बोकेका बुलेट आइसकेका छन् ।’


उनका अनुसार बुधबार १ सय ५, बिहीबार ९०, शुक्रबार ७८ र शनिबार १ सय १८ वटा ग्यास बुलेट आएका छन् । ‘हामीलाई प्रतिदिन ८५ देखि ९० वटा ग्यास बुलेट आवश्यक हो,’ उनले भने, ‘प्रत्येक दिन औसतमा ७० देखि १ सय वटासम्म ग्यास बोकेका बुलेट आइरहेका छन् ।’ भारतका पाँच ठाउँबाट ग्यास आउने गरेको छ । सबैभन्दा बढी भारतको बरौनी रिफाइनरीबाट आउने गरेको छ । त्यसपछि मथुरा, दुर्गापुर, पारादिप र हल्दियाबाट ग्यास आउने गरेको छ । एउटा बुलेटले १८ मेट्रिक टन ग्यास बोक्छ । उक्त परिमाणको ग्यास १२ सय सिलिन्डर भर्न मिल्छ । निगमका अनुसार अहिले भारतबाट प्रतिदिन २० करोड ३४ लाख रुपैयाँको एलपीजी आयात हुने गरेको छ ।

केही ठूला उद्योगमा ग्यास अभाव देखिनेबित्तिकै उपभोक्ताले बढी सिलिन्डर खपत गर्ने गरेको निगमको भनाइ छ । ‘एउटै घरमा चार/पाँच वटासम्म यसरी सिलिन्डर राखिन्छ, उपभोक्तालाई यस्तो नगर्न अपिल गरिसकेका छौं,’ उनले भने, ‘ठूला ग्यास विक्रेताकामा गएर अनुगमन गर्ने काम निरन्तर भइरहेको छ ।’


निर्वाचनलाई लक्ष्य गर्दै त्यो बेला बढी मूल्यमा बिक्री हुन्छ भनेर ग्यास लुकाइएको आशंकामा अनुगमन भइरहेको भट्टले जानकारी दिए । ‘अनुगमनका क्रममा अहिलेसम्म त्यस्तो केही पाएका छैनौं,’ उनले भने, ‘काठमाडौं उपत्यकामा मात्र ग्यासको समस्या देखिएको हो, अहिले समाधान भइसकेको छ ।’ देशभर रहेका ६० उद्योगले प्रतिदिन ५ सयदेखि २४ सय मेट्रिक टन ग्यास खपत गर्ने गरेका छन् । प्रत्येक वर्ष एलपीजीको खपत ८ देखि १० प्रतिशतले बढ्दै गएको निगमको तथ्यांक छ ।

सुरुमा केही समय ग्यास अभाव भए पनि बिस्तारै सहज हुँदै जाने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बताए । ‘यो समस्या १५/२० दिन अघिदेखि नै थियो,’ उनले भने, ‘अहिले ग्यास बोकेका बुलेट आइरहेका छन्, खाली सिलिन्डर भर्ने काम भइरहेको छ ।’ नेपाल ग्यासको उपभोक्ता धेरै भएकाले समयमै भारतबाट ग्यास बुलेट नआउँदा अभाव भएको उनले सुनाए । ‘केही दिनभित्रमै ग्यासको समस्या समाधान भइसक्छ, नेपाल ग्यासले एक सातादेखि १० हजार सिलिन्डर बजारमा पठाएको छ,’ उनले भने, ‘उपत्यकामा २० उद्योगले ग्यास भरेर सिलिन्डर बिक्री गर्दै आएका छन् ।’


आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतबाट थप दुई हजार मेट्रिक टन ग्यास ल्याइने भएको छ । आइतबार यसबारे निर्णय गरेर माग गरिसकिएको निगमले जनायो । ‘निर्वाचनका बेला बढी खपत हुन सक्ला, अभाव सिर्जना नहोस् भनेर थप दुई हजार मेट्रिक टन ग्यास माग गरेका छौं,’ निगमका प्रमुख कार्यकारी अधिकृत भट्टले भने, ‘यो चाहिनेभन्दा बढी परिमाण हो तर त्यो बेला अभाव नहोस् र बढी खपत होस् भनेर माग गरेका हौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले मंगलबार सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा नेपालका लागि युरोपेली संघका राजदूत महामहिम भेरोनिक लोरेन्जोसँग भेटवार्ता गरेका छन् । मन्त्रालयका सहप्रवक्ता गोकर्ण उपाध्यायका अनुसार, भेटका क्रममा २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन तयारी, नेपालले अति कम विकसित राष्ट्र (एलडीसी)बाट स्तरोन्नति गरेपछिको प्रगति, उड्डयन सुरक्षा, हवाई यातायात मापदण्ड तथा पर्यटन प्रवर्द्धनका ...
— जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतका चुनावमा झूठा आश्वासन बाँडेर जितेर गएका तर बाचा पूरा नगरेका उम्मेदवारलाई कडा प्रश्न गर्न मतदातालाई आग्रह गरेका छन् । सप्तरीको राजगढ गाउँपालिका-६ स्थित फकिरामा मंगलबार आयोजित सभामा अध्यक्ष यादवले भने, ‘चुनावका बेला मिठा कुरा र झूठा आश्वासन बाँडेर जितेर गए पनि क्षेत्रको विकास किन भएन ? भनी ...
— बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका वीरगन्ज महानगरपालिका–१९ का ३२ वर्षीय अनिलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । वीरगन्जस्थित कारागार नजिकको सडक खण्डबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रमोदप्रसाद गुप्ताको जाहेरीले बादी नेपाल सरकार र प्रतिवादी ...
— जिल्लामा सुमो दुर्घटना हुँदा एक विदेशीसहित तीन जना घाइते भएका छन् । बाक्सिलाबाट काठमाडौं जाँदै गरेको ना १ ज ८७८१ नम्बरको सुमो मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको बयाक्तामा मंगलबार बिहान ११ बजेर २० मिनेटमा दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रका अनुसार भुटान थिम्पुकी ७२ वर्षीया ...
— सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसद्‌बाट फिर्ता लिन स्वीकृत प्रदान गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसद्‌बाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो । उक्त विधेयक राष्ट्रिय सभामा विचाराधीन थियो । सामाजिक सञ्जाल नियमन गर्न चाहे अब कानुन बनाउन नयाँ विधेयक पेस ...