मुख्य समाचार
सन् २०२४ को सुरुमा एप्पललाई उछिन्दै विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी बनेको माइक्रोसफ्ट केही सातायता निरन्तर दबाबमा
सन् २०२४ को सुरुमा एप्पललाई उछिन्दै विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी बनेको माइक्रोसफ्ट केही सातायता निरन्तर दबाबमा

— सन् २०२४ को सुरुमा एप्पललाई उछिन्दै विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी बनेको माइक्रोसफ्ट केही सातायता निरन्तर दबाबमा छ । गत बिहीबार कम्पनीले एकै दिन करिब ४ खर्ब अमेरिकी डलर गुमाएको थियो ।

मानव बेचबिखन तथा बाल यौन अपराधी ठहर भएका जेफ्री एप्स्टिनसँग जोडिएका फाइलमा माइक्रोसफ्टका संस्थापक बिल गेट्सको नाम रहेको खबरपछि कम्पनीको छविमा थप नकारात्मक प्रभाव परेको छ ।

पछिल्लो त्रैमासिकको आम्दानी र खर्च विवरण सार्वजनिक भएपछि माइक्रोसफ्टको क्लाउड कारोबारको वृद्धिदर अपेक्षाभन्दा सुस्त देखिएको छ । एआई पूर्वाधारमा बढ्दो लगानी र त्यसले बढाएको लागतका कारण लगानीकर्ताहरू सचेत बन्दा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । यही पृष्ठभूमिमा अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेको जेफ्री एप्स्टिनसम्बन्धी नयाँ कागजातले संस्थापकसँग जोडिएका पुराना विवाद चर्चामा आउँदा बजारमा नकारात्मक भावना थपिएको ब्लुमबर्गका विश्लेषक जेम्स सेफार्टको धारणा छ ।

कम्पनीले सार्वजनिक गरेको आम्दानी विवरणमा ‘आज्यर क्लाउड’ सेवाको वृद्धिदर अघिल्लो त्रैमासिकको तुलनामा केही कमजोर देखिएको छ । साथै, एआई डेटा सेन्टर र चिप्समा भइरहेको उच्च पुँजीगत खर्चले निकट अवधिमा मार्जिनमा दबाब पर्ने संकेत व्यवस्थापनले दिएको छ । उच्च ब्याजदर, ठूला प्रविधि र त्यसमा पनि एआई कम्पनीको मूल्यांकनबारे लगानीकर्तामा बढ्दो सावधानी र नाफा बुकिङका कारण पनि माइक्रोसफ्टसहित अन्य ठूला टेक सेयरमा बिक्री दबाब देखिएको हो । अक्टोबर २०२५ आसपास झन्डै ३९ खर्ब अमेरिकी डलर बजार मूल्य रहेको माइक्रोसफ्ट सोमबार ३१ खर्ब अमेरिकी डलर मूल्यसहित विश्वकै चौथो ठूलो कम्पनीका रूपमा भने कायम छ ।

यसैबीच, अदालतको आदेशअनुसार सार्वजनिक गरिएका लाखौं पृष्ठका एप्स्टिन फाइल्समा माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सको नाम पटक–पटक उल्लेख भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ती कागजातमा विभिन्न क्यालेन्डर इन्ट्री, अन्य व्यक्तिबीच भएको कुराकानीका सन्दर्भ र एप्स्टिनले आफैं तयार पारेका तर नपठाइएका ड्राफ्ट इमेलहरू समावेश छन् । ती ड्राफ्टमध्ये केहीमा गेट्सको व्यक्तिगत जीवनबारे आधारहीन र आपत्तिजनक दाबी गरिएको समाचार माध्यमले जनाएका छन् ।

कतिपय इमेल ड्राफ्टमा बिल गेट्स एप्स्टिनको निजी टापुमा जाँदा रुसी केटीहरूबाट यौनजन्य रोग सरेको आरोपसमेत उल्लेख छ । ती इमेलहरू गेट्सलाई पठाइएको वा प्राप्त भएको कुनै प्रमाण भने सार्वजनिक दस्ताबेजमा सामेल छैनन् । द न्यु योर्क टाइम्सलाई दिएको प्रतिक्रियामा गेट्सका प्रतिनिधिले ती आरोपलाई पूर्ण रूपमा झूटो भन्दै अस्वीकार गरेका छन् । इमेल कुराकानीमा आएका प्रसंग एप्स्टिनले सम्बन्धबारे बढाइचढाइ गरेर प्रभाव जमाउन गरेको प्रयास मात्र भएको ती प्रतिनिधिले बताएका छन् ।



गेट्सले यसअघि नै सीएनएन, पीबीएसलगायतसँगका अन्तर्वार्तामा एप्स्टिनसँग भेट्नु र उनीसँग समय बिताउनु गल्ती भएको स्वीकार गर्दै यस सम्बन्धप्रति पश्चात्ताप रहेको बताएका छन् । तर फ्लाइट लगबुकमा उल्लेख भए पनि गेट्स एप्स्टिन टापु पुगेको प्रमाणित हुने कुनै तस्बिर वा विवरण भने सामेल छैनन् ।

यसै साता सार्वजनिक फाइल्समा पिटर थिएल र इलन मस्कजस्ता प्रविधि क्षेत्रका अन्य व्यक्तिको नाम पनि देखिन्छ तर प्रायः भेटघाटको तालिका वा कुनै अन्य व्यक्तिका इमेलमा उल्लेख भएका रूपमा मात्र नाम उल्लेख छन् । ती कागजातले कसैको पनि आपराधिक गतिविधि वा संलग्नता भने पुष्टि नगर्ने मस्कको दाबी छ ।

माइक्रोसफ्टले सेयर उतारचढावलाई एप्स्टिन फाइल्ससँग जोडेर कुनै प्रतिक्रिया दिएको छैन । विश्लेषकहरूका अनुसार हालको गिरावट मुख्यतः आम्दानी, समग्र एआई बबलको दबाब र बजार अवस्थाबाट प्रेरित भए पनि हाई–प्रोफाइल व्यक्तिसँग जोडिएका शीर्षकहरूले छोटो अवधिमा लगानीकर्ताको भावनालाई प्रभावित गर्न सक्नेछ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा गुगलले गुगलबुकको सफ्टवेयर, जेमिनी एआईसँगको एकीकरण तथा यसको मूल एन्ड्रोइड कोडबेसबारे विस्तृत जानकारी दिनेछ । सहभागी पत्रकारहरूले लेनोभो, एएसयूएस र एचपीलगायत साझेदार कम्पनीहरूले तयार पारेका गुगलबुक ...
। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ । अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो । गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले ...
। मेटा (फेसबुकको माउ कम्पनी) ले विश्वभर किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालबाट रोक लगाउने कानुनको विरोध गर्न र आफ्नो ‘टीन अकाउन्ट’ लाई सुरक्षित देखाउन इन्फ्लुएन्सरहरूलाई पैसा तिरेर प्रचार गरेको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । डिजिटल अधिकार समूह ‘टेक ट्रान्सपरेन्सी प्रोजेक्ट’ (टीटीए) को रिपोर्ट अनुसार, जब–जब कुनै देशमा १६–१८ वर्षमुनिका किशोरहरूलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनको ...
: सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाविरुद्ध बालबालिकाको गोपनीयता उल्लंघन र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको अभियोगमा अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा औपचारिक सुनुवाइ सुरु भएको छ। क्यालिफोर्नियाको अकल्यान्डस्थित फेडरल कोर्टमा न्यायाधीश इभोन गोन्जालेज रोजर्सको इजलासमा यो ऐतिहासिक मुद्दाको प्रक्रिया अघि बढेको हो। अमेरिकाका विभिन्न २९ राज्यहरूले दर्ता गरेको यो संयुक्त याचिकाको नेतृत्व क्यालिफोर्निया, कोलोराडो, ...
युट्युबले आफ्नो भ्युज गन्ने तरिका परिवर्तन गरेको छ । पहिले भिडियो कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्र एक भ्यू गनिन्थ्यो । अब भने भिडियो प्ले हुनेबित्तिकै वा लाइभ स्ट्रिममा कसैले जोडिने बित्तिकै तुरुन्तै भ्यू गणना हुन्छ । विभिन्न प्रकारका सामग्री (लामो भिडियो, सर्ट्स, लाइभ) मा फरक फरक तरिकाले भ्यू गनिँदा धेरै अन्योल हुने गुनासो क्रियटरहरूले गरेका थिए । ...