— मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरूले मंगलबारसम्म निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोलेका छैनन् ।
निर्वाचन आचारसंहिता अनुसार निर्वाचन प्रयोजनार्थ छुट्टै बैंक खाता खोल्नु पर्ने भए पनि हालसम्म कसैले नखोलेकाेप्रति निर्वाचन अधिकृतको कार्यालय र आचारसंहिता अनुगमन समितिले चासो देखाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार दल र स्वतन्त्रबाट मकवानपुरमा ४४ जनाले उम्मेदवारी दिएका छन् । तर, हालसम्म कुनै पनि उम्मेदवारले छुट्टै बैंक खाता नखोलेको बाग्मती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताए । ‘निर्वाचन प्रयोजनका लागि खाता खोल्न निर्वाचन कार्यालयको सिफारिस चाहिन्छ, अहिलेसम्म कसैले पनि सिफारिस लिएका छैनन्,’ उनले भने ।
मकवानपुर–१ मा राजनीतिक दलबाट १३ र स्वतन्त्र १० गरी २३ जनाले उम्मेदवारी दिएका छन् । यसैगरी, मकवानपुर–२ मा राजनीतिक दलबाट १६ र पााच स्वतन्त्रगरी २१ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगले उम्मेदवारले गर्ने सम्पूर्ण आम्दानी तथा खर्च पारदर्शी बनाउन निर्वाचन प्रयोजनका लागि अनिवार्य रुपमा नयाँ बैंक खाता खोल्नु पर्ने व्यवस्था गरेको छ । उक्त खाताबाट मात्रै निर्वाचनसम्बन्धी सबै आर्थिक कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ ।
छुट्टै खाताले खर्च पारदर्शी हुने, आयोगले तोकेको खर्चको सीमा उल्लंघन नहुने भएकाले सबै उम्मेदवारलाई नयाँ खाता अनिवार्य रुपमा खोल्न भनिएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले बताइन् । छुट्टै खाता नखोल्ने र खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई स्पष्टिकरण सोधिने, एक लाख रुपैयाासम्म जरिवाना वा उम्मेदवारी खारेजीसम्मको कारबाही गर्न सक्ने अधिकार निर्वाचन अधिकृतलाई रहेको छ ।
आचारसंहिता उल्लंघन भएको ठहर भएमा आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिमको कारबाही हुने निर्वाचन कार्यालयका प्रमुख ढकालले बताए ।