— आसन्न निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन धनकुटामा निर्वाचन सुरक्षा प्रहरीको तालिम सुरु गरिएको छ।
जिल्लाका लागि छनोट भएका १ हजार ८५ जना निर्वाचन प्रहरीका लागि धनकुटा सदरमुकामकोतल्लो टुँडिखेलसहित हिले, पाख्रीवास, भेडेटार, छिन्ताङ र राजारानीमा आधारभूत तालिम सञ्चालन भइरहेको छ।
सशस्त्र प्रहरीको कोटामा परेकालाई भने छारागाउँस्थित छिन्ताङ गुल्ममा तालिम दिँइदैछ । धनकुटाका प्रहरी प्रमुख एसपीसरतकुमार थापा क्षेत्रीका अनुसार छनोट भएका निर्वाचन प्रहरीलाई १० दिनसम्म आधारभूत सुरक्षा, भीड नियन्त्रण, मतदान केन्द्र सुरक्षा, आपतकालीन प्रतिकार्य र निर्वाचन आचारसंहितासम्बन्धी व्यवहारिक अभ्याससहितको तालिम दिन लागिएको हो।
तालिम अवधिमा मतदानस्थलको सुरक्षा व्यवस्थापन, शंकास्पद गतिविधि पहिचान, मतदाता तथा कर्मचारीको सुरक्षामा कसरी खटिने भन्ने विषयमा विशेष अभ्यास गराइने प्रहरीले जनाएको छ। तालिम पूरा गरेपछि उनीहरूलाई जिल्लाका विभिन्न मतदान केन्द्र तथा संवेदनशील क्षेत्रमा परिचालन गरिनेछ ।