: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ज–जसले गठबन्धन गरे पनि परिणाम स्वीकार्न तयार रहेको बताएका छन् । केहि दिनको मौनता तोड्दै सभापति लामिछानेले सामाजिक सञ्जालमा आक्रमक स्टाटस लेख्दै देशमा अन्तिम सुनामीको तयारी रहेको बताउँदै अन्य राजनीतिक शक्तिहरु जो–जो मिल्ने हो मिल्न चुनौति दिएका छन् ।
उनले देशमा आउँदै गरेको अन्तिम सुनामीलाई रोकेर देखाउन समेत चेतावनी दिएका छन् । सामान्य ठानेको चोटले सताएर केहि दिन आराम गर्नु परेको र आजदेखि सार्वजनिक जीवनमा फकिएको जानकारी गराउँदै सभापति लामिछानेले फागुन २१ मा हुने चुनावपछि देशमा प्रतिपक्ष समेत नयाँ हुनुपर्ने बताएका छन् ।
रविले लेखेका छन्, ‘गिद्धले सिनो लुछे जस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ । मेरो खुला आग्रह छ–अझै पनि जो–जो मिल्नु छ, मिल । खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर । अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दवाब र धम्की स्वीकार्दैनौँ ।’ जनविद्रोहले फालेको संसद कुनै हालतमा पुनः स्थापन हुन नदिने पनि उनले बताएका छन् ।