। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सिंहदरबारको पुनर्निर्माण यसैवर्ष(२०८२)भित्रै सुरु गर्ने तयारी थालिएको छ । सरकारले भदौ २४ गते जलाइएका सिंहदरबार र सिंहदबार परिसरभित्र आगजनी र तोडफोड गरिएका संरचनाको पुनर्निर्माण यसैवर्ष भित्र सुरु गर्ने तयारी भइरहेको जनाएको छ ।
सिंहदरबारभित्रका भौतिक संरचनाको निर्माण र मर्मतसम्भार सहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गर्ने गर्छ । सोही कार्यालयले पुनर्निर्माणको काम यसैवर्षभित्रै सुरु गर्ने तयारी रहेको जनाएको छ ।
हाल क्षति भएको सिंहदरबारको मूल भवन र परिसरमा रहेका अन्य संरचनामा भएको क्षतिको विस्तृत अध्ययन भइरहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ । अध्ययनको काम पुलचोक इन्जिनियरिङ कलेजले गरिरहेको छ । कलेजले यसै महिनाभित्रै प्रतिवेदन दिने भनिएको छ । लगत्तै संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले पुनर्निर्माणका लागि टेन्डर खोल्ने तयारी गरेको छ ।
सिंहदरबारको मूल भवनमा भएको आगजनीमा मात्रै झण्डै एक अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । जुन संरचनागत क्षतिको मात्रै अनुमान हो । पुरातात्विक महत्वका सम्पत्ति क्षतिको अझैसम्म मूल्यांकन हुन सकेको छैन ।
यस्तै आगजनीका क्रममा विभिन्न मित्र राष्ट्रसँग भएका सन्धि–सम्झौताका प्रतिलिपिहरू पनि जलेको अनुमान छ । क्षतिग्रस्त भवन जोखिमपूर्ण भएकाले त्यहाँ पसेरै सबै कुरा बुझ्नसक्ने अवस्था नरहेको सहरी विकास मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
क्षतिग्रस्त मूल भवनमा इन्जिनियरहरूले ‘रातो स्टिकर’ टाँसेर अहिलेकै अवस्थामा उक्त भवन प्रयोग गर्न नसकिने जनाउ दिएका छन् । यद्यपि पुनर्निर्माण अथवा प्रबलीकरण के गर्ने भन्ने विषयमा अझै निर्णय भइसकेको छैन ।