: राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तर्क्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गरेका हुन्।
उनले कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेर नेपाललाई पनि धनी बनाउन र जापानले पनि फाइदा लिन आग्रह गरे । उनले भने,‘नेपालमा लगानी गरे धन पनि हुन्छ ! धर्म पनि हुन्छ।’ राष्ट्रपति पौडेलले भने, ‘हामीले लगानीमा आकर्षक प्रतिफलका साथै नाफा र पूँजी फिर्तिका लागि सहज प्रक्रियाहरू सहितको स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका छौं, नेपाल सरकार वैदेशिक लगानीमा पूर्ण सहयोग, निर्बाध सहजीकरण र सुरक्षा प्रदान गर्न प्रतिबद्ध छ’,। राष्ट्रपति पौडेलले गौतमबुद्धको दर्शनले हामी आल्हादित भएको र नेपाल र जापानको सम्बन्ध सांस्कृतिक रूपले आदिकालदेखि रहेको उल्लेख गरे। उनले भने,'गौतमवुद्धले भनेका थिए - शान्तिको विजय त्यो हो जसमा कसैको हार हुँदैन ।’null
उनले जापानी व्यापारिक समुदायको उत्साहजनक सहभागिताले नेपाल र जापानबीच तिब्र व्यापार र लगानी सम्पर्क स्थापित गर्न फलदायी हुने विश्वास व्यक्त गरे। उनले राजनीतिक स्थिरतासँगै नेपालको प्रयासहरू सामाजिक न्याय, सुशासन र जनताको समृद्धि प्राप्तिमा केन्द्रित रहेको छ बताए ।
उनले आजको समयमा आन्तरिक रूपमा सरकार र निजी क्षेत्रले हातेमालो नगरी एवम् वाह्य रूपमा अन्य मुलुकसँग साझेदारी अघि नबढाई कुनै पनि देश समृद्ध हुन नसक्ने विचार व्यक्त गरे ।
उदार आर्थिक नीतिहरूको पालना गर्दै नेपालले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिमा आधारित उद्योगहरूलगायत लगभग हरेक क्षेत्रलाई विदेशी लगानीका लागि खुला गरेको तथा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न व्यापक कानुनी, प्रक्रियागत तथा संस्थागत सुधारहरू गरेको उनको भनाई थियो ।
“नेपाल लगानी बोर्डले ठूला लगानीकर्ताहरूलाई एकद्वार सेवा प्रदान गर्दछ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र प्रमुख अन्तर्राष्ट्रिय मूल्याङ्कन एजेन्सीहरूले स्वतन्त्र मूल्याङ्कनमार्फत् नेपालले दक्षिण एसियामै सबैभन्दा अनुकूल मध्येको एउटा व्यावसायिक वातावरण प्रदान गर्ने पुष्टि गरेका छन्”, राष्ट्रपति पौडेलले भने ।