: मोरङमा एक युवकले मंगलबार बिहानका राति श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेले रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर श्रीमतीको हत्या गरेको जानकारी दिए ।
घटना बिहान २:४५ बजेतिरको हो । डीएसपी लामिछानेका अनुसार मुकेश सोमबार बेलुका धनपट्टीस्थित ससुराली घरमा पुगेका थिए । ससुराली घरमै श्रीमती अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले अम्बिकाकुमारीलाई चक्कुले प्रहार गरेको प्रहरीले जनाएको छ । उनीबीचमा कस्तो विवाद भएको हो भनेर यकिन छैन । श्रीमानले चक्कुले प्रहार गर्दा अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको डीएसपी लामिछानेले बताए । उनका अनुसार श्रीमतीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मुकेशको पनि घटनास्थलमै मृत्यु भएको हो । दुवै जनाको शव हाल घटनास्थलमै छ । घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल आफैं घटनास्थल पुगेका छन् । घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको छ । घटनाको वास्तविक कारण तथा अन्य पृष्ठभूमिका बारेमा विस्तृत अनुसन्धानपछि मात्रै पत्ता लाग्ने डीएसपी लामिछानेको भनाइ छ ।