मुख्य समाचार
आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बुधबार (२१ माघ) देखि नेपाली सेना परिचालन हुने
आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बुधबार (२१ माघ) देखि नेपाली सेना परिचालन हुने

। आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बुधबार (२१ माघ) देखि नेपाली सेना परिचालन हुने भएको छ ।

निर्वाचन पूर्वको सुरक्षा योजना अनुसार नेपाली सेना २१ माघदेखि फिल्ड गस्तीमा निस्कन लागेको हो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार सेना २१ माघदेखि परिचालन हुँदैछ ।

‘हाम्रोतर्फको सम्पूर्ण तयारी पूरा भएको छ । २१ माघबाट निर्वाचन पूर्वको सुरक्षा रणनीतिअनुसार सेना फिल्डमा खटिन्छ’ सहायक रथी बस्नेतले अनलाइनखबरसँग भने ।

निर्वाचन लक्षित गरेर देशभर ७९ हजार ७२७ सेना खटिँदैछन् । उनीहरुले आवश्यकता अनुसार गस्ती पेट्रोलिङ गर्ने बताइएको छ । संवेदनशील क्षेत्र तथा मतदानस्थलहरुको अवस्था हेरेर संयुक्त गस्ती समेत हुने बताइएको छ ।


‘संवेदनशीलताका आधारमा सेनाले गस्ती छ । निर्वाचन अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगको समन्वयमा तेस्रो घेरामा रहेर सेनाले ड्युटी गर्छ’ सहायक रथी बस्नेत भन्छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएका थिए । त्यसपछि सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना बनाउने, त्यसअनुसार एकीकृत तालिम तथा अभ्यास गर्ने काम समेत गरेको थियो ।

९ असोजको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ तर्जुमा गर्नका लागि कार्यदल गठन गरेको थियो । यो कार्यदलले ३० कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिमा बुझाएको प्रतिवेदन पास भएको थियो ।

अहिले यही एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार सेना परिचालनदेखि सुरक्षाका अन्य ड्युटीहरु पनि सुरु भएका छन् ।

सेनाको हवाई गस्ती, ५ ठाउँमा स्ट्याण्डबाई हेलिकप्टर

निर्वाचनको अवधिमा सेनाले हवाई गस्ती समेत गर्ने भएको छ । विकट ठाउँहरु तथा अतिसंवेदनशील क्षेत्रहरुमा सेनाले हवाई गस्ती गर्नेगरी सुरक्षा व्यवस्था मिलाएको छ ।

निर्वाचनकै अवधि र निर्वाचन पश्चात मतपेटिका ढुवानीको काममा समेत हेलिकप्टरको प्रयोग हुनेगरी व्यवस्था मिलाइएको सहायक रथी बस्नेत बताउँछन् ।

‘हामीले सुरक्षालाई तीन चरणमा बाँडेका छौं–निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात् । यी तिनै चरणहरुमा हवाई गस्तीदेखि हेलिकप्टरमार्फत मतपेटिका ढुवानीको काम हुन्छ’ सहायक रथी बस्नेतले अनलाइनखबरसँग भने ।



त्यसका लागि सेनाले विभिन्न पाँच ठाउँहरुमा स्ट्याण्डबाई हेलिकप्टरको व्यवस्था समेत गरिएको छ । जसका लागि सुर्खेत, पोखरा, काठमाडौं, विराटनगर, इटहरीमा स्ट्याण्डबाई हेलिकप्टरको व्यवस्था मिलाइएको छ ।

केही भइहालेमा तुरुन्तै जानुपर्ने अवस्थामा हेलिकप्टरमार्फत सेना तत्कालै फिल्डमा पुग्ने बताइएको छ । सडक सञ्जाल नपुगेका ठाउँहरुमा पनि हेलिकप्टरमार्फत मतपेटिका, मतपत्रहरु ढुवानी सेनाले गर्नेछ ।

त्यस्तै निर्वाचन सकिएपछि पनि यस्ता ठाउँहरुमा हेलिकप्टरमार्फत नै मतपेटिकाहरु गणनास्थलसम्म ल्याउने काम सेनाले गर्नेछ ।

बम डिस्पोजल टोली तैनाथ

निर्वाचन भाड्न खोज्ने समूहले बमलगायत बिस्फोटक पदार्थहरु राख्नसक्ने, तर्साउने खोज्ने जस्ता कामहरु हुने भएकाले त्यस्ता वस्तुहरु डिस्पोज गर्न बम डिस्पोजल टोली पनि तैनाथ गरिएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।

त्यसका लागि अति संवेदनशील मतदानस्थलहरु भनिएका ठाउँहरुलाई केन्द्रीत गरेर बम डिस्पोजल टोली पनि तैनाथ पारिएको सेनाले बताएको छ ।

विगतका निर्वाचनहरुमा पनि होक्स (बमजस्तै देखाएर तर्साउनका लागि राखिएका वस्तु), बमहरु राख्ने र निर्वाचन भाड्न खोज्ने केही छिटपुट प्रयास भएका थिए । तर यो पटक त्यस्ता समूह खासै शक्तिशाली देखिएका छैनन् ।



यसपटक मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत), विश्वभक्त दुलाल (आहुती) नेतृत्वको नेपाल कम्युनिष्ट वैज्ञानिक समाजबादी पार्टी, समर जङग नेतृत्वको समाजवादी कम्युनिष्ट पार्टी र महेन्द्र मल्ल नेतृत्वको जनपक्षीय कम्युनिष्ट पार्टीले निर्वाचन बहिस्कार गर्ने घोषणा नै गरिसकेका छन् ।

वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले ‘निर्वाचन बहिस्कार गरौं’ भन्दै आइतबार मात्रै काठमाडौंको बाङ्गेमुढामा कोणसभा गरेको थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले १६ माघमा सिन्धुलीको दुधौलीमा निर्वाचन बहिस्कार कोणसभापछि पक्राउ नै परेका थिए ।

विमानस्थलदेखि कारागारको सुरक्षामा सेना

निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको पनि ठूलो संख्यामा खटिने भएपछि महत्वपूर्ण प्रतिष्ठानदेखि कारागार, विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ ।

यो अवधिमा महत्वपूर्ण प्रतिष्ठानमा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने सहायक रथी बस्नेत बताउँछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि अन्य विमानस्थलहरु, कारागार कार्यालयहरु, सिंहदरबारलगायतका महत्वपूर्ण ठाउँ तथा प्रतिष्ठाहरुको सुरक्षा सेनाले गर्नेछ ।

यसअघिका निर्वाचनमा पनि यस्ता प्रतिष्ठानको सुरक्षा नेपाली सेनाले गर्दै आएको थियो ।

कति सुरक्षाकर्मी खटिन्छन् ?

आगामी निर्वाचनमा ३ लाख ३८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । सेनाका प्रवक्ता बस्नेतकाअनुसार नेपाली सेना मात्रै ७९ हजार ७२७ जना परिचालन हुन्छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार नेपाल प्रहरी ७५ हजार ५९७ जना परिचालन हुन्छन् ।

प्रहरीमातहत नै रहने गरी १ लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन हुन्छन् । उनीहरुको अहिले तालिम सुरु भइसकेको छ ।



सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार ३४ हजार ५७६ सशस्त्र प्रहरी निर्वाचनमा परिचालन हुन्छन् । सशस्त्र प्रहरी मातहत नै रहनेगरी १५ हजार ११० निर्वाचन प्रहरी परिचालन हुन्छन् ।

त्यस्तै १ हजार ९२१ गुप्तचर पनि परिचालन हुन्छन् । चारै वटा सुरक्षा निकाय र निर्वाचन प्रहरी समेत गरेर ३ लाख ३३ हजार ९८० सुरक्षाकर्मी निर्वाचनका क्रममा खटिने गृह मन्त्रालयले बताएको छ ।

३६०० बढी अति संवेदनशील मतदानस्थल

सुरक्षाका हिसाबलाई तीन भागमा वर्गिकरण गरिएको छ । जसमा सामान्य, संवेदनशील र अति संवेदनशील भनेर छुट्याइएको छ ।

प्रहरीको आन्तरिक रिपोर्टअनुसार देशभर अति संवेदनशील मतदानस्थलहरू ३ हजार ६८० छन् । सुरक्षा संवेदनशीलताको हिसाबले सबैभन्दा चुनौतीपूर्ण मधेश प्रदेशलाई लिइएको छ । मधेश प्रदेशका आठ जिल्लामात्रै १ हजार २४६ अतिसंवेदनशील मतदानस्थलहरु छन् ।

जसअनुसार सप्तरीमा २०९, सिरहामा १६३, धनुषामा १९४, महोत्तरीमा १६३, सर्लाहीमा १५८, रौतहटमा १५२, बारामा १४५ र पर्सामा ६२ मतदानस्थलहरु अति संवेदनशीलको सूचीमा छन् ।

त्यसैगरी कोशी प्रदेशका ४३९, बागमतीका ३५४, गण्डकीका ३२८, लुम्बिनीका ३४, कर्णालीका ३५८ र सुदूरपश्चिम प्रदेशका ४८१ मतदानस्थलहरू अति संवेदनशीलको सूचीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेवारविरुद्ध परेका उजुरी, उनीहरूको योग्यता र विभिन्न दलबाट आएका जानकारीसमेतलाई आधार बनाएर ७६ जनाको नाम बन्दसूचीबाट हटाएको जानकारी गराएका छन् । जस अनुसार, कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जनाको नाम हटाइएको छ । प्रदेश सभाको बन्दसूचीतर्फ नाम कायम भएका ...
। २४ भदौको जेनजी आन्दोलनमा फरार भएका दुई जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका-१ हुसेल बस्ने ४१ वर्षीय अशोक लो र रामेछापको लिखु तामाकोशी गाउँपालिका-२ का अजय तामाङ भनिने सञ्जय तामाङ रहेका छन् । उनीहरू २४ भदौमा कारागारबाट फरार भएका थिए । लो कर्तव्य ज्यान मुद्द मा २५ वर्ष कैद सजाय सुनाएका ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयले प्रहरीलाई नियन्त्रण गर्ने नभई सक्षम बनाउन चाहेको बताएका छन् । काठमाडौंमा सोमबार नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले मन्त्रालय प्रहरीलाई आदेश दिने निकाय मात्र नभई अभिभावक पनि भएको बताएका हुन् । प्रहरीलाई नीतिगत स्पष्टता, संस्थागत मजबुती र व्यावसायिक स्वतन्त्रता प्रदान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । गृहमन्त्री ...
। प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले अनेकौ उतार चढावकाबीच प्रहरी संगठन धुलो टक्टक्याएर खरानीबाट उठ्दै पुन: नागरिकको सेवामा समर्पित रहेको बताएका छन् । सोमबार काठमाडौंमा प्रहरी निरीक्षक आधारभूत तालिम १८३ औं समूह दीक्षान्त समारोहमा प्रहरी महानिरीक्षक कार्कीले सात दशकको इतिहास बोकेको प्रहरीले अनेकौं उतार चढाव, जलन र दलनका बावजूद हिम्मतका साथ अझ दरो भई नागरिकको ...
। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस देशको विकासका लागि नेतृत्व लिन तयार रहेको बताएका छन् । नागरिकको अपेक्षाअनुसार नै पार्टी सुधारिएको भन्दै उनले अब सुधारिएको कांग्रेसले नै देश विकासको नेतृत्व लिने बताए । ‘नेपाली कांग्रेससँग नागरिकका गुनासा छन्,’ उनले भने,’अपेक्षा झन् धेरै छन् । नागरिकका गुनासा सम्बोधन गर्दै अब अपेक्षाअनुसारको समृद्धि दिने बाटोमा हामी ...