— संयुक्त अरब इमिरेट्स (यूएई) ले ५४ औं राष्ट्रिय दिवसको अवसरमा २६७ जना नेपाली कैदीलाई आममाफी दिएको छ । यसप्रति नेपाल सरकारले यूएई सरकारलाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा यूएई सरकारले प्रदान गरेको आममाफीलाई नेपाल–यूएईबीच द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भाव र मानवीय सहयोगको उदाहरणका रूपमा लिइएको उल्लेख छ ।
विज्ञप्तिअनुसार आबुधाबीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार पटक–पटक अनुरोध गरेपछि यूएई सरकारले उक्त निर्णय गरेको हो ।
आममाफी पाएका नेपाली नागरिककाविरुद्ध अन्य कुनै कानुनी मुद्दा वा प्रतिबन्ध बाँकी नरहेको खण्डमा यूएईको कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि स्वदेश फर्किन सक्ने जनाइएको छ ।
यूएईमा रोजगारी तथा बसोबास गर्दै आएका नेपाली नागरिकका हकहितका विषयमा नेपाल सरकारले कूटनीतिक पहललाई निरन्तरता दिँदै आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।