— १२ जना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद) को लिखित परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको सुर्खेत प्रहरीले जनाएको छ ।
आर्थिक लाभ लिई अर्काको नाममा परीक्षा दिनेहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनीहरू नागरिकता तथा प्रवेशपत्रमा फोटो हस्ताक्षर बदली किर्ते गरी परीक्षामा सहभागी भएका उनले बताए । उनीहरूमाथि लिखत,किर्ते आपराधिक लाभ कसूरमा अनुसन्धान भइरहेको प्रवक्ता बुढथापाले बताए ।
पक्राउ पर्नेमा जाजरकोट छेडागाड नगरपालिका–११ का १९ वर्षीय केशव थापा, दैलेखको दुल्लु नगरपालिका–१ का १८ वर्षका रमेश नेपाली, सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ का २४ वर्षका वीरबहादुर ठाडा छन् ।
यस्तै जाजरकोटकै कुशे गाउँपालिका–२ का १९ वर्षका बिपेश सिंह,जुनिचाँदे गाउँपालिका–१ का १८ वर्षका ललित रावल, कुशे–२ का १८ वर्षका सूर्यकिरण र २१ वर्षका निरज शाहीलाई नियन्त्रणमा लिएइको डीएसपी बुढथापाले बताए । उनका उनुसार छेडागाड नगरपालिका–१० का १९ वर्षीय चन्द्र शाह,कुशे–२ का २३ वर्षका नवराज विक,बाँकेको बैजनाथ गाउँपालिका–२ का २४ वर्षका रामु कार्की पनि अरुको परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका छन् ।
यस्तै बैजनाथ–१ का २५ वर्षका मोतिलाल थारु र कुशे घर भई वीरेन्द्रनगर बस्ने २६ वर्षका पूर्णबहादुर सिंहलाई मतियारका रूपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।