— आगामी फागुन २१ मा हुने निर्वाचनका क्रममा सुदूरपश्चिमका ४६ वटा मतदानस्थलहरु हिमपातको जोखिम सूचीमा राखिएको छ । बाजुरा २२, डडेलधुरामा १९ र बझाङमा पाँच वटा मतदानस्थललाई हिमपात हुनसक्ने जोखिमको सूचीमा राखिएको छ ।
यी स्थानहरूमा फागुन तेस्रो साता पनि हिमपात हुनसक्ने जोखिम हुने गरेको छ । दार्चुलामा टिंकर र छाङरु मतदानस्थलमा हिमपात हुने भए पनि यस अवधिमा ती मतदानस्थलका मतदाताहरू सदरमुकाम खलंगा बसाइँ सर्ने भएकाले खलंगामै मतदानस्थल निर्धारण गरिएको छ ।
हिमाली गाउँपालिकामा पाँच वटा, स्वामीकार्तिक गाउँपालिकामा ६ वटा, जगन्नाथ गाउँपालिकामा एउटा, गौमूल गाउँपालिकामा तीन वटा, खप्तडछेडेदह गाउँपालिकामा तीन वटा, त्रिवेणी नगरपालिकामा दुई वटा र बूढीनन्दा नगरपालिकामा दुई वटा मतदानस्थल हिमपातको जोखिममा रहेका मतदानस्थल भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।
बझाङमा साइपाल गाउँपालिकाका पाँच वटै मतदानस्थल हिमपातको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । धलौन मावि १ र २, काँडा, धुली र एडाडकुडी डाँडा मतदानस्थलमा हिमपातको जोखिममा रहेका छन् ।
डडेलधुरामा १९ वटा मतदानस्थलहरु हिमपातको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अजयमेरु गाउँपालिकामा ४, अमरगढी नगरपालिकामा ३, आलीताल गाउँपालिकामा ३, गन्यापधुराका ४, नवदुर्गा गाउपालिकाको एक र भागेश्वर गाउपालिकाका चार वटा मतदानस्थलहरुलाई हिमपातको जोखिमको सूचीमा राखिएको छ ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले दार्चुलाको समस्या समाधान भइसकेको बताए । ‘अन्य जिल्लाले हिमपातको जोखिममा राखेका मतदानस्थलको हकमा जिल्ला सुरक्षा समितिले गर्ने निर्णयअनुसार निर्वाचन आयोगले विकल्प दिनेछ,’ प्रदेश निर्वाचन कार्यालय प्रमुख भट्टले भने ।