— डडेलधुराको अमरगढी नगरपालिका–११ धनघाटमा शनिबार साँझ जिल्ला निर्वाचन कार्यालय डोटीको गाडी दुर्घटनामा परेको छ ।
डोटीको जोरायलबाट दिपायल फर्किँदै गरेको गाडी साँझ पौने ८ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था मध्यम र तीन जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए । घाइतेहरूको उपचार भइरहेको छ ।
दुर्घटनामा परेको गाडी बा प्र ०१०० झ ६४९५ नम्बरको रहेको छ । प्रारम्भिक रूपमा गाडी आफैं अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।